अन्य पार्टी भन्दा माओवादी महिलामैत्री: मन्त्रीमण्डलमा ३ जना पठायो
काठमाडौँ । गठबन्धन सरकारको नेतृत्व गरेको कांग्रेसले आफ्नो भागका मन्त्रालयहरूमध्ये एकजना मात्र महिलालाई मन्त्री बनाएको छभने नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि क्रमशः एक–एक जना महिला मन्त्री पठाएका छन् ।
तर, सत्ता साझेदार माओवादीले भने आफूले प्राप्त गरेको भागवण्डामा ५० प्रतिशत महिलालाई पठाएको छ । माओवादीले दुई मन्त्री र एक राज्यमन्त्री गरी तीन जना महिला मन्त्री बनाएको हो । याे सँगै माओवादी अन्य पार्टी भन्दा महिलामैत्री देखिएकाे छ ।
नेपाली कांग्रेसले महिला आन्दोलनकी नेतृ उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र नेकपा एसले रामकुमारी झाँक्रीलाई सहरी विकास मन्त्री बनाएको छ । जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकी छिन् ।
माओवादीले शुरुवातमै नेतृ पम्फा भुषाललाई उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बनाएर पठाएको थियो भने पछिल्लोपटक मन्त्रीपरिषद् विस्तारमा माओवादीबाट शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छिन् । त्यस्तै माओवादीले बोधमाया कुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाएको छ ।
यससँगै मन्त्रीमण्डलमा कुल २५ मन्त्रीमध्ये २४ प्रतिशत महिला रहेका छन् र पाँच महिला मन्त्री मन्त्रिपरिषद् बैठकमा नै सहभागीता जनाउँछन् ।