अछाम र बझाङमाथि कारबाही, प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने

धनगढी । धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। दुबै टिमले रेफ्रीको निर्णय अस्वीकार गर्दै आधा खेलमै कोर्ट छाडेपछि कारबाही गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

परिषद्का सदस्य सचिव दीपक सिंहले खेल अनुशासन नदेखाएका दुबै टिममाथि कारबाही गरिएको बताए। ‘दुबै टिमले रेफ्रीको निर्णय अस्विकार गर्दै बिचमै खेल छाडेका थिए,’ सिंहले भने, ‘उनीहरुलाई प्रतियोगिताका बाँकी खेल खेल्न नपाउने गरी कारबाही गरिएको छ। प्रतियोगिता सकिएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्छ।’

बिहीबार भएको डोटी र अछामबिचको खेलमा अन्तिम सेटमा विवाद गर्दै अछामले खेल छाडेको थियो। बिहीबार नै भएको बझाङ र बैतडीको खेलमा बझाङले विवाद गर्दै खेल बिचमै छाडेको थियो। सो क्रममा प्रहरी र खेलाडीबीच हात हालाहाल नै भएको थियो।

धनगढीमा जारी प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ। प्रतियोगिताको उपविजेतालाई नगद ५० हजारसहित ट्रफी दिइनेछ भने प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.