बैतडीकाे खोड्पे बजारबाट साढे २५ हजारका म्याद नाघेका सामान बरामद

बैतडीमा दसैँ तिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन शुक्रबार खोड्पे बजारका ३३ पसलबाट २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा छ हजार ६०० बराबरको पेन्टस, १४ हजार ५३० बराबरको पेयपदार्थ, तीन हजार बराबरको चकलेट, ७७५ बराबरको बिस्कुट र ४३५ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको हाे ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ । चाडपर्वका बेला हुनसक्ने कालोबजारी रोक्न बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको र यसबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ ।

यसअघि गत भदौमा पनि संयुक्त अनुगमन टोलीले दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न बजारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा एक लाख ३५ हजारभन्दा बढी मूल्यका अखाद्य तथा म्याद गुज्रेका बस्तु बरामद गरिएको थियो ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.