‘सीआईडी हौँ’ भन्दै मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ

नक्कली प्रहरी बनेर मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ परेका छन्।आबुखैरेनी गोरखा सडक खण्डको बाह्रकिलो बजार नजिकै उनीहरूले सोमवार राति दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिइ सामानमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

उनीहरूले गोरखा सदरमुकाम आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर जाँच गरेको बताइएको छ। राति दुई बजेतिर उनीहरूले प्रहरीको सीआईडी हौँ भन्दै जबरजस्ती मालवाहक गाडी नियन्त्रणमा लिने, धाकधम्की दिने, सहचालकको मोबाइल खोस्ने र ट्रकमा भएको सामानमा समेत क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा संलग्न गोरखा नगरपालिका ११ का २० वर्षीय निरञ्जन तामाङ, त्यही ठाउँका २१ वर्षीय निरज कोइराला र १९ वर्षका सुरज तामाङलाई घटनास्थलबाट गए राति नै  पक्राउ गरिएको हो। घटनापछि फरार रहेका त्यही ठाउँका २० वर्षीय ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई आज बिहान पक्राउ गरिएको हो।

पक्राउ परेका ६ जनाविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.