घरमा कुकुर पाल्न अब नगरपालिकाको अनुमति लिनुपर्ने
कास्कीकाे पाेखरा महानगरपालिकाले नेपालमै पहिलोपल्ट कुकुरको दर्ता अनिवार्य गरेको छ । महानगरको छैटौं नगरसभाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७६ पारित गरेको थियो । उक्त ऐनमा कुकुरपालकले अनिवार्य दर्ता गरेर अनुमतिपत्र लिनुपर्ने व्यवस्था थियो ।
महानगरले पशुधनीको नाम, ठेगाना, घर नम्बर, फोन नम्बर, कुकुरको जाति, जात/नश्ल, उमेर, बोलाउने नाम, रङ र लिंगको रेकर्ड राख्छ । अनुमतिपत्रसँगै बेल्टमा ट्याग झुन्ड्याइन्छ । ऐनबमोजिम दर्ता भएका कुकुरलाई छाडा छोड्न नपाइने, घरबाहिर दिसापिसाब गराउन नहुने प्रावधान छ ।
ऐनविपरीत कार्य गरे कुकुरपालकलाई ५ देखि १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ । छाडा छोडिएका कुकुर कसको हो भन्ने ट्यागबाट पत्ता लगाउने र जरिवाना गरिने वडा ८ का अध्यक्ष रुद्रनाथ बरालले बताए । ‘कुकुर पालेर बूढो भएपछि सडकमा छोडिदिने समस्या छ । अर्को भनेको कुकुर डोर्याउँदै ल्याएर सार्वजनिक स्थलमा दिसापिसाब गराउँछन्,’ उनले भने, ‘दर्ता प्रक्रियापछि अब यो समस्या आउँदैन ।’