भोलि आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । थारु बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ । थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छिमेकीबीच माया, सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा अट्वारी पर्व मनाउने गरिन्छ । दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन् ।
कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्नु पर्ने चलन रहेको छ ।