हकअधिकार सुनिश्चत गर्न मुख्यमन्त्रीसँग रानाथारु समुदायकाे माग

धनगढी । प्रदेशका कानूनमा रानाथारु समुदायका हकअधिकार सुनिश्चत हुनेगरी निर्माण गर्न कैलाली कञ्चनपुरका थारु समुदायले माग गरेका छन् । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्षकाे नेतृत्वमा आएकाे रानाथारु समुदायका प्रतिनिधिहरुकाे टाेलीले सुदूरश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई शुक्रबार साे सम्बन्धि मागपत्र बुझाएका हुन् ।

टाेलीले प्रदेशमा बन्ने कानूनकासाथै स‌ंबैधानिक आयाेगमा समावेशीता र थारुभाषालाई सरकारी कामकाजकाे भाषामा कार्यान्वयन गर्न समेत माग गरेका छन् । यस्तै रानाथारु समुदायकाे समग्र विकासकालगि थारु विकास आयाेग गठन गर्न माग गरेकाे छ ।

मागपत्र बुझ्दै मुख्यमन्त्री भट्टले समावेशी समानुपातिक सबै समुदायकाे सहभागीता पक्षधर नै सुदूरपश्चिम प्रदेश सरकार भएकाले प्रदेश सरकारले बनाउने कानूनमा कसैलाई पनि विभेद नहुनेमा ढुक्क रहन आग्रह गरे । रानाथारु समुदायका हकअधिकार सुनिश्चत हुनेगरी नै कानूनहरु बनाईने उनकाे भनाई छ ।

प्रदेश सरकारले गठन गरेका कुनै पनि आयाेग तथा समितिमा रानाथारु समुदाय नछुटेकाे स्मरण गराउदै मुख्यमन्त्री भट्टले संविधान प्रदत्त हक अधिकार कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । तपाईहरुका मागमा केही हकअधिकार संघीय सरकारले कार्यान्वयन गर्नुपर्ने भएमा प्रदेश सरकार तपाईहरुसँगै रहेर सिफारिस गर्ने उनकाे भनाई छ ।

नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाकाे नेतृत्वमा आएकाे टाेलीमा राजपा र लाेकतान्त्रिक राजपाका प्रदेश सांसदहरु लगायत रानाथारु समुदायमा कृर्याशील संघसंस्थाका प्रतिनिधहरुकाे सहभागिता थियाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.