बाढी पहिराे प्रभावितहरुकाे उद्दारमा लाग्न मुख्यमनत्री भट्टकाे निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बाढी पहिराे प्रभावितहरुकाे उद्दारमा तदारुकतासाथ लाग्न सराेकारवालाहरुलाई निर्देशन दिएका छन् । पछिल्ला दिन बर्षाले सुदूरपश्चिमका विभिन्न ठाउँमा धनजनकाे क्षति गरिरहेकाे खबरपछि मुख्यमन्त्री भट्टले शुक्रबार आन्तरिक मामला तथा कानूनमन्त्री पूर्णा जाेशी, कैलाली-कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई फोन गरेर सम्बन्धित निकायलाई उद्दारमा खटिन र तत्काल रहात व्यबस्थापनमा तदारुकतासाथ लाग्न निर्देशन दिएका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसँग जिल्लाकाे अबस्था बुझ्दै मुख्यमन्त्री भट्टले जिल्ला दैवीप्रकाेपका सबै निकायलाई परिचालन गरी तत्काल उद्दारमा तदारुकता दिन र मानवीय क्षति कम गर्न के गर्नुपर्छ प्रदेश सरकारसँगकाे समन्वयमा रहन निर्देशन दिएका हुन् ।

पछिल्लाे केही दिनदेखि प्रदेशभर बर्षा भैरहेपनि कैलालीकञ्चनपुरमा केही नदीकाे बाढी बस्ती पसेकाे छ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि धनजनको क्षति भएको छ। एक जनाको मृत्यु भएको छ भने एक घर बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। यस्तै सयौँ घरमा पानी पसेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो। दुई नदीकाे बीचमा फसेका दुईजनाको भने उद्धार गरिएको छ।

गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाको बीच भागमा फसेका थिए। उनीहरुको मध्यराति उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल गरि करिब ५० जनाको टोलीले उद्दार गरेको सूचना अधिकारी जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.