आफुले पालेका कुखुरा बेच्न प्रहरीको अवरोधपछि किसान आन्दोलित
माेहन बिष्ट
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका क्षेत्रका किसानले आफैँले खोरमा पालेका ब्रोइलर कुखुरा बेच्नका लागि बजार ल्याउने क्रममा प्रहरीले अवरोध गरेपछि आन्दाेलित भएका छन् । सोमबार बिहानै इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको नेपाल प्रहरीले हाकिमको आदेश भन्दै कुखुरा किसानलाई रोकिदिएको हो । मोटरसाइकलमा महेन्द्रनगर कुखुरा बेच्नका लागि ल्याउने क्रममा चार घन्टा कुखुरा रोकिदिएपछि किसान आन्दोलित भएका थिए ।
दुईपटक कोरोना महामारीका कारण व्यवसाय चौपट भएका किसानलाई प्रहरी सहयोगको साटो उल्टै तगारो बनेको भन्दै दोधारा–चाँदनीका किसान आन्दोलित भएका हुन् । उनीहरूले अन्य तस्करजस्तै आफूहरू किसानबाट समेत अवैध रकम असुल्न खोजेको भन्दै विरोध गरेका छन् । तस्करी भएको कुखुरा रोक्ने भए दोधारा–चाँदनी नगरपालिका भारतसँग जोडिएको सीमा क्षेत्रमा गएर रोक्नुपर्ने भन्दै किसानले प्रहरीलाई सुझाब दिएका छन् । शंका लागे खोरमै गएर छापा मार्न किसानको चुनौती छ । अन्य तस्करबाट रकम असुलेझैँ रकम असुल्ने उद्देश्य भए सो कार्य गैरकानुनी भएको किसानको टिप्पणी छ ।
दोधाराका कुखुरापालक किसान भरत भट्टले आफ्नै फर्म–खोरमा पालेका कुखुरा बेच्नका लागि बजार लैजाने क्रममा प्रहरीले अवरोध गरेको बताए । उनले बिहान चार बजे रोकिएको कुखुरा आठ बजे मात्रै छाडेको भन्दै, ‘हामी केही किसान गाउँमै उत्पादन गरेर यहाँ र महेन्द्रनगर बजारमा कुखुरा बेच्छौँ । प्रहरीले हामीप्रति तस्करको जस्तो व्यवहार गरेर घन्टौँ रोकिदियो ।’ कोरोना महामारीका कारण संकटमा परेका कुखुरा व्यवसायीलाई सहयोगको साटो प्रहरी तगारो बनेको उनको भनाइ छ ।
विगतमा भारतबाट तस्कर समूहले नेपालमा ल्याउने कुखुराका कारण वास्तविक कुखुरापालक नेपाली किसान मारमा परेको प्रसंग जोड्दै उनले तस्करी गर्नेमाथि डन्डा बजाउनसमेत सुझाब दिए । तर, पसिना बगाएका इमानदार किसानमाथि प्रहरीले गर्ने व्यवहार ठीक नभएको उनको तर्क छ । दोधारा–चाँदनीका कुखुरा व्यवसायी गोविन्द भट्टले प्रहरीका कारण कुखुरा व्यवसायी मारमा मात्र नभई व्यवसाय नै संकटमा परेको बताए । उनले अनेकौँ बहानाबाजी गरेर प्रहरीले जहाँ जता पनि दुःख दिँदै आएको बताए ।
किसानले प्रहरीविरुद्ध आन्दोलन गरेपछि सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मानबहादुर सुनार र दोधारा–चाँदनीका मेयर वीरबहादुर सुनार अवरोध गरिएको स्थलमा पुगेर सहजीकरण गरेपछि प्रहरीले कुखुरा छाडेको थियो । राज्यमन्त्री र नगरप्रमुख सुनारद्वयसँग इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका इन्चार्ज भरतराज गिरीले आफूहरूले रोकेको नभई नेपालबाट आएको चल्ला र भारत जान लागेको खुुकुराको वितरण भेरिफाई मात्रै गरेको बताएका थिए ।