पर्यटकको नजर पर्न नसकेको डडेल्धुराकाे सायल झरना
धनगढी । झरनाको धनी मानिने डडेल्धुराकाे भागेश्वर गाउँपालिमा आधा दर्जन बढी मनमोहक झरना छन्। तर, प्रचारप्रसारको अभाव र दुर्गम क्षेत्र भएकाले त्यहाँ रहेका झरनामा पर्यटकको नजर भने पर्न सकेको छैन। अर्थात पर्यटकहरुले यहाँकाे प्रकृतिलाई नजिकवाट चुम्न सकेका छैनन् ।
गाउँपालिकामा सबैभन्दा बढी मनमोह झरना भागेश्वर गाउँपालिका वडा नम्बर १ मा छ। स्थानीय सुरेन्द्र ठकुराठीका अनुसार वडा नम्बर १ मा रहेको सायल झरना निकै मनमोहक छ। ‘आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै सम्भावना बोकेको क्षेत्र भागेश्वर गाउँपालिका हो,’ उनले भने, ‘सायल झरनाले त झनै पर्यटक तान्न सक्छ। तर प्रचारप्रसार नहुँदा आन्तरिक पर्यटक पनि पुग्न सकेका छैनन्।’
सायल झरनामा पूर्वाधार विकासका लागि गाउँपालिकाले झण्डै १० लाख खर्च गरेको गाउँपालिकाका सूचना अधिकारी मातृका भट्ट बताउँछन्। ‘१० लाखमा झरनासम्म पुग्ने पुहँचमार्ग र झरनामा केही पूर्वाधार निर्माण गरिएको छ,’ उनले भने, ‘सायल झरनाकै विकासका लागि संघीय सरकारलाई प्रस्तावना पठाएका थियौँ। प्रस्तावना त स्वीकृत भएको छ। तर बजेटको अख्तियारी आएको छैन।’
डडेल्धुरा सदर मुकामदेखि भागेश्वर गाउँपालिका जाँदा करिव ४० किमी सडक पार गरेपछि पुनिउट भन्ने ठाउँमा पुगिन्छ। त्यहाँबाट १५ देखि २० मिनेटको पैदल यात्रापछि सायल झरना पुगिने स्थानीयले बताएका छन्।
