Dashain Suvakamana

नेकपा एमालेले गठन गर्यो छाया सरकार

काठमाडौं । गण्डकी प्रदेश संसदमा सबैभन्दा ठूलो दल एमाले अहिले कांग्रेस नेतृत्वको सरकारको प्रमुख प्रतिपक्षी दलको भुमिकामा छ ।साढे ३ वर्षसम्म सत्ताको नेतृत्व गरेर विपक्ष बन्न पुगेकाे एमालेले सरकारको कामकारवाहीको निगरानी गर्न छाया सरकार बनाएको छ ।

संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले प्रदेशका ११ मन्त्रालय हेर्ने गरी ९ संसदीय समूह बनाएको प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।उनका अनुसार गठित समितिले मन्त्रालयका बजेट, योजना, कार्यान्वयनका पक्ष हेर्ने छन् । जसमा पूर्वमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक जिम्मा पाएका छन् । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला छन् । कानून, सूचना सञ्चार, प्रदेश मामिला समूह संयोजकमा चन्द्रमोहन गौचन चयन भएका छन् ।

यस्तै सदस्यमा पुष्पा केसी भण्डारी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् समूहको संयोजकमा मोहनप्रसाद रेग्मी छन् । सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ छन् । ईन्द्रलाल सापकोटाको नेतृत्वमा कृष्णबहादुर थापा सदस्य रहने गरी अर्थ समूह गठन गरिएको छ ।

सामाजिक विकास समूहमा नरदेवी पुनमगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र ईन्द्रधारा विष्ट सदस्य चुनिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण समूह संयोजकमा पूर्व मन्त्री विकास लम्साल चयन भए । सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार छन् ।

मित्रकुमारी गुरुङ संयोजक रहेको भूमि, व्यवस्था, कृषि समूह सदस्यमा मनबहादुर गुरुङ, महेन्द्र काली छन् । ऊर्जा, खानेपानी समूह संयोजकमा मीनप्रसाद गुरुङ छन् भने सदस्यमा धनञ्जय दवाडी चयन भए । सांसद राजीव पहारीलाई स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको जिम्मा दिइएको छ । सदस्यमा जूनादेवी नेपाली र सावित्रा रानामगर छन् ।

संसदमा विश्वासको मत आर्जन गर्न नसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार गत २७ जेठमा ढलेको थियो । पछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) र स्वतन्त्र मिलाएर सरकार गठन गरेका हुन् । कांग्रेस नेतृत्वको सरकारमा ११ मन्त्रालय छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.