कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेकालाई आजदेखि खोप लगाइने
भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ । प्रदेश-१ र प्रदेश-२ बाहेकका पाँचवटा प्रदेशमा आजदेखि खोप अभियान सुरु हुने तथा प्रदेश-१ र २ मा केही समयभित्रै खोपको मिति तोकिने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।
भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने छ । अहिलेसम्म एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । यसमध्ये ६० लाख मात्रा खोप खरिद गरिएको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको हो ।
भारतबाट खरिद गरिएकोमध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन । यसैगरी भारतबाट अनुदानमा ११ लाख कोभिशिल्ड र चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै कोभ्याक्स अन्तर्गत तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोनसन एण्ड जोनसन खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।