देउडा प्रतिष्ठान डोटीको अध्यक्षमा साउद

तेजवहादुर डुम्रेल

डाेटी । देउडा प्रतिष्ठान डोटीको जिल्ला समिति गठन गरिएको छ । आइतबार डाेटीकाे दिपायलमा बसेको भेलाले लोक देउडा गायक शेरबहादुर साउदको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा देवी खड्का, सचिवमा दीपक खाती, कोषाध्यक्षमा शेर विष्ट र सहसचिवमा योगेन्द्र बहादुर खड्कालाई चयन गरेको छ । यस्तै सदस्यहरूमा मानमती शाही, कृष्णबहादुर सुनार, केशबराज फुलारा र दलबहादुर भण्डारीलाई चयन गरेको छ ।

सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रसिद्ध लोकसंस्कृतिका रूपमा रहेको देउडा गीतको संरक्षण, सम्बद्र्धनका लागि यसअघि धनगढीमा केन्द्रीय कार्यालय रहने गरी वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीको अध्यक्षतामा केन्द्रीय समिति रहने गरी यो प्रतिष्ठान स्थापना गरिएको छ । सोही प्रतिष्ठानका जिल्ला शाखा पनि रहने गरी व्यवस्था गरिए बमाेजिम डोटीमा प्रतिष्ठान विस्तार गरिएको हो ।

दिपायलमा भएको भेलाका प्रमुख अतिथि साहित्यकार, लेखक तथा अध्येता हेमन्त विवशले सुदूरपश्चिम प्राचीन समयदेखि नै लोक कलाले धनी रहेका बताए । ‘हामीसँग कस्तुरीको जस्तै कथा छ,’ उनले भने,‘हामीले हामीभित्रको सम्पत्ति देखेका छैनौ । अरुकै सिको गर्न तम्सी रहेका छौ ।’ देउडाभित्रको साहित्य र त्यसको मौलिकता बुझेर त्यसको प्रवर्द्धनमा ध्यान दिए विश्वगतको ध्यान तान्न सकिने बताए  ।

प्रतिष्ठानमा चयन भएका अध्यक्ष साउदले प्रतिष्ठानले देउडाको मौलिकता रक्षा गर्ने, देउडा गीतसङ्गीतको क्षेत्रमा लागेका स्रष्टाहरूको हकहितमा जुट्ने लगायतका कामहरू प्रतिष्ठानबाट गरिने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.