एसईईको नतिजा साेमबार आउने, कक्षा ११ काे परीक्षा साउन भित्रै
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो ।
बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गतेसम्म नतिजा सार्वजनिक गरिसक्ने जानकारी दिए । नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहेको उनले बताए । जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको प्राप्ताङ्क प्राप्त भइसकेकाले कुनै कारणले अब रोकिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
केही विद्यालयका विद्यार्थी परीक्षामा पूरै अनुपस्थित देखिएको, सबै विषयमा ‘ए’ प्लस ल्याएको विद्यार्थी एउटा विषयमा मात्रै अनुपस्थित देखिएका जस्ता विषयमा हाल आफूहरूले मसिनो गरी केलाइरहेको उनले जानकारी दिए। विद्यालयलाई भने असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कन पूरा गरी जिल्लास्थित समन्वय एकाइमा पठाउन समय दिइएको थियो ।
कक्षा ११ को साउनभित्र
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा साउनभित्र सक्न सम्बद्ध विद्यालयहरूलाई निर्देशन दिएको छ । कुल सय पूर्णाङ्कको परीक्षा लिन र साउनभित्र परीक्षा सक्न विद्यालयहरूलाई बोर्डले निर्देशन दिएको हो ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो ।