कैलालीका विभिन्न जंगलमा पाटेबाघ देखियो, सावधानी अपनाउन आग्रह
धनगढी । पूर्वपश्चिम राजमार्गअन्तरगत कैलाली खण्डकाे मसुरिया क्षेत्रमा डमरु हुर्काउन बाघ पुगेको छ। सामुदायिक वन समन्वय समितिले डमरुसहितको बाघ राजमार्ग क्षेत्रमा देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
‘बढैपुर–राजीपुर वन क्षेत्रमा डमरुसहितको पाटेबाघ केही समयदेखि पूर्वपश्चिम राजमार्गको माथिल्लो तथा तल्लो खण्डमा देखा परेको हुँदा यस क्षेत्रमा बसोबास गर्ने समुदाय तथा सो क्षेत्र हुँदै यात्रा गर्ने यात्रुलाई सावधानीपूर्वक यात्र गर्नुहुन अनुरोध गर्दछौ,’ सामुदायिक वन समन्वय समिति गौरिगंगाले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि धनगढीका विभिन्न क्षेत्रमा पनि बाघ देखिएको थियो। उपमहानगरपालिकाको वडा नम्बर ३ का विभिन्न टोलमा बाघ देखिएको थियो। नजिकै दुधुवा नेशनल पार्क रहेको र त्यहाँबाटै बाघ डमरुसहित नेपाल पसेको हुनसक्ने स्थानीय बताउँछन्। यो समयमा डमरु हुर्काउन पोथी बाघ कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ।
भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न नेपालतर्फको जंगलमा आउने गरेका छन्।