नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्री शर्माकाे प्रतिबद्धता
काठमाडौं । नेपालमा नयाँ बन्ने सार्वजनिक भौतिक संरचना अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचना अपाङ्गमैत्री बनाइने बताएका हुन् ।
स्पाइनल कर्ड इन्ज्युरी नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थल अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्नेलगायत माग राखेका थिए। उनीहरुले शर्मा गृहमन्त्री हुँदा अपाङ्गगता भएकाका लागि महत्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् ।
प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिए । उनले घाइते तथा अपाङ्गता भएकाको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको समेत जानकारी दिए ।