डाेटीकाे छतिवन झरना आन्तरिक पर्यटककाे राेजाई बन्दै
धनगढी । डोटीको जोरायल गाउँपालिका-२ छतिवनमा रहेको रमणिय झरना पछिल्लाे समय आन्तरिक पर्यटककाे राेजाई बन्दै गएकाे छ । बाटोघाटो र सरसफाई लगायतकाे उचित ब्यवस्था नभएपनि झरना हेर्न दैनिक सयौं आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयले बताएका छन्।
प्रदेशको अस्थायी मुकाम धनगढी लगायतका क्षेत्रबाट सयौंको संख्यामा स्थानीयहरू उक्त झरना हेर्न पुग्ने गरेको स्थानीय हरि भट्टले बताए। उनले डोटी, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत मानिसहरू झरना हेर्न आउने गरेको बताए।
कैलालीकै टीकापुरदेखि मोटरसाइकलमा साथीहरूसँगै पुगेका टेक साउदले झरनाको बारेमा सुनेकाले साथीहरू मिलेर आएको बताए। उनले तराईको गर्मी छल्न र रमाइलो गर्न यहाँ आएको बताए। अवस्थीले जस्तै साउदले पनि झरना वरपर सरसफाइ र बाटो निर्माणमा ध्यान दिनुपर्ने बताए।
यता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले डीपीआर तयार भइसकेको बताउँदै यही आर्थिक वर्षदेखि झरनासम्म पुग्ने बाटो, पिकनिक स्पट, पार्किङस्थल लगायतको निर्माण थालिने बताए।
धनगढीदेखि भीमदत्त राजमार्ग हुँदै बुडरसम्म र त्यहाँबाट बुडर-जोरायल सडक हुँदै झरना पुग्न ९६ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ।