डडेल्धुरामा काँग्रेस अधिवेशन तात्दै : कोही सरकारी गाडीमा त कोही रिक्सामा सरर
राम धामी
डडेल्धुरा । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेसको सातौं जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका स्थगित गरिएको भए पनि डडेल्धुरामा भने जिल्ला नेतृत्वका लागि प्रत्यासीहरुको दौडधुप जारी छ ।
नेपाली काँग्रेस डडेल्धुराको सभापति पदका लागि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको समर्थन आफुलाई भएको जिकिरगर्दै परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले जिल्लाव्यापी चुनावी अभियान सञ्चालन गरिरहेका छन् । बिभिन्न सरकारी कार्यालयका सवारी साधन र करौंडौ मुल्यका निजी सवारी साधनसहित लावालस्करका साथ एकपटक जिल्ला भ्रमण गरिसकेका साँउद अहिले प्रधानमन्त्री देउवा भेट्न काठमाणडाैं पुगेका छन् ।
क्रियासिल सदस्यता वितरणमा आफ्ना कार्यकर्ताहरु छुटेको भन्दै थप क्रियासिल सदस्यता माग गर्न साँउदसहित दर्जनौ जिल्लास्तरीय नेताहरु राजधानी पुगेकाे थाहा भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका साँउदले दर्जनौ सवारी साधनमा सयौं नेता कार्यकर्ताहरु राखेर व्यापक चुनावी अभियान सञ्चालन गरिरहेका बेला उनीसँगै प्रतिष्प्रर्धा गर्ने तयारीमा सभापति पदका अन्य आकंक्षीहरु भने अटो रिक्सा भाडामा लिएर चुनावी प्रचारमा होमिए छन् ।
मंगलबार नेपाली काँग्रेस अमरगढी नगरपालिका–१ स्याउलेमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति पदका दुई आकंक्षीहरु हरिप्रसाद भट्ट र करुणाकर भट्ट नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लसँगै भाडाको अटोरिक्सामा चढेर सहभागी भए ।
३२ बर्षदेखि नेपाली काँग्रेस डडेल्धुराको राजनीतिमा सक्रिय महाधिवेशन प्रतिनिधी हरिप्रसाद भट्टले आफुलाई आमा बुबाले दुध बेचेर काठमाण्डौंसम्म पढाएकाे भन्दै ‘विपन्न परिवारमा जन्मिएका ब्यक्तिहरुले राजनीति गर्नु हुँदैन भन्ने किसिमको सन्देश प्रवाह गर्न खोजिएको छ,’ उनले भने, ‘तर, महामानव विपी कोईरालाले पार्टी स्थापनागर्दा यस्तो परिकल्पना गरेकाे होइन् । पार्टीमा सुकिला मुकिलाहरु हावी भएको उनकाे जिकिर थियाे ।
घर परिवारले तरकारी बेचेर क्याम्पस पढेका नेपाली काँग्रेस डडेल्धुराको सभापति पदका अर्का आकंक्षी करुणाकर भट्ट पनि सोहि अटो रिक्सामा चढेर कार्यक्रममा सहभागी भए । हाल निजी विद्यालयमा अध्यापनसँगै नेपाली काँग्रेस डडेल्धुराको उपसभापतिका रुपमा कार्यरत भट्ट विपन्न समुदायका मानिसहरुले राजनीति गर्नु हुँदैन भन्ने मान्यतालाई चिर्न आफुले सभापति पदका लागि प्रतिष्प्रर्धा गरिरहेको बताए ।
नेपाली काँग्रेस डडेल्धुरामा लामो समय कार्यवाहक सभापति रहेर कुशल नेतृत्वका रुपमा आफुलाई स्थापित गरिसकेका भट्टले विपन्न समुदायका पक्षमा काम गर्न आफु राजनीतिमा होमिएको बताए । नेपाली काँग्रेस डडेल्धुराको सभापतिका अर्का प्रत्यासी दलित संघ डडेल्धुराका संस्थापक भरत नेपाली हाल पनि सिलाई मेसिन चलाएर जिविकोपार्जन गरिरहेका छन् । पञ्चायतकालमै खरिदारको स्थायी नौकरी त्यागेर काँग्रेसको राजनीतिमा होमिएका उनी जिल्लास्तरीय नेताहरुमा निकै सिनियर राजनीतिकर्मी मानिन्छन् ।
‘काँग्रेसका अधिकांस इमान्दार कार्यकर्ताहरुले कामको मुल्यांकन गरेर आफुलाई नेतृत्व गर्नुपर्न दबाब दिएकाले मैले सभापति पदका लागि प्रतिष्प्रर्धा गर्न खोजेको हुँ ।’ नेपालीले भने,‘हामी सबै केन्द्रीय सभापति शेरबहादुर देउवाका कार्यकर्ता हौ, तर यहाँ कसैलाई कोइराला पक्षको मान्छे, कसैलाई विपन्न मान्छे र कसैलाई जातीय विभेद गरेर नेतृत्व हडप्ने तयारी भईरहेको छ ।’
अमरगढी नगरपालिका–१ का सभापति नरबहादुर दियालको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापति मल्लले काँग्रेसभित्र इमान्दार र कर्तब्यनिष्ट काँग्रेस खोज्न काँग्रेसका वडादेखि केन्द्रीय महाधिवेशनसम्म सबै नेता कार्यकर्ताहरुले इमान्दार भएर खटनुपर्ने बताए । उनले डडेल्धुरा काँग्रेसका सबै नेता कार्यकर्ताहरु केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाका कार्यकर्ताहरु भएकाले कसैले पनि म आफुमात्रै देउवानिकट भएको भनेर दाबी गर्न नहुने बताए ।