टोकियो ओलम्पिक : पदक तालिकामा चीनको शीर्षता कायमै
विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) मा चीनले आफ्नो शीर्षतालाई यथावत राखेको छ । चीनले दोस्रो दिनको खेल सकिदासम्म ६ स्वर्ण र एक रजत र ४ कास्यसहित ११ पदक प्राप्त गर्दै शीर्षस्थान ओगटेको हो । चीनले पहिलो दिन ३ स्वर्ण र एक कास्य जितेको थियो ।
चीनलाई आयोजक जापानले पछ्याइरहेको छ । जापानले दोस्रो लिनको खेल सकिदासम्म ५ स्वर्ण र १ रजतसहित कुल ६ पदक जितेका छन् । अमेरिकाले ४ स्वर्ण, २ रजत र ४ कास्यगरी कुल १० पदक जित्दै तेस्रो स्थान ओगटेको छ । दक्षिण कोरियाले २ स्वर्ण र ३ कास्यगरी कुल ५ पदक हात पार्दै चौथो स्थानमा रहेको छ । रसियन खेलाडीको टोली (आरओसी), इटाली, अष्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले समान १–१ स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म ४२ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये कल्पना परियारले आफ्नो विधा १० मिटर एयर राइफलमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि दोस्रो चरणमा पुग्न सकेनन् । कल्पनाले दुई वर्षअघि नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरिन् । उनले ६१६.८ अंक जोडिन् । यसअघि उनको नाममा ६१४.५ अंकको कीर्तिमान थियो ।
४८ केजीमुनि प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट पहिलो बाउटमै रसियन खेलाडी इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्डमा नकआउट हुन पुगिन् । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । लेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा मंगलबार तथा गौरिकाले महिला १०० मिटर फ्रि स्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् ।