धनगढी नगरकाे पानी निकासा बन्द गर्नेहरु प्रहरीमाथि जाईलागे
धनगढी । बर्षादकाे पानी निकासा हुने खाेलानाला अतिक्रमण गरेर बनाईएका संरचनाले पछिल्लाे केही वर्षदेखि धनगढीमा डुवान हुँदै आएकाे छ । सानाे वर्षाले पनि जलमग्न हुने धनगढीमा शनिवारदेखिकाे लगातार बर्षाले डुवानमा परेपछि आज नगरपालिकाकाे पहलमा बन्द गरीएका नाला खाेल्न खाेज्दा अतिक्रमणकाे चपेटामा परेकाहरुले प्रहरीमाथि आक्रमण गरेका छन् ।
उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सोही क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने ढुंङ्गामुढा हुँदा ४ जना प्रहरी जवान घाइते भएको बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए। उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताए। ‘वडा नम्बर ३ मा पानी जमेपछि घर डुबानमा परेका मात्रै होइनन्’ उनले भने, ‘नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा क्षती पुगेर एक महिनासम्म बिजुली जाने थियो। आजै साँझदेखि धनगढी ब्ल्याक आउट हुने थियो।’
वडा नम्बर ३ मा रहेकाे नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा पानी जमेर झण्डै साढे दुई करोड बराबरको विद्युतिय उपकरणमा क्षति पुगेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख सुरेन्द्र चौधरीले केबल ट्रेन्चमा क्षती पुगे एक महिनासम्म विद्युत अवरुद्ध हुनसक्ने बताए।
यता वडा नम्बर २ का स्थानीयले भने उक्त कल्भर्ट खोल्दा आफूहरु डुबानमा परेको बताएका छन्। उनीहरुले वडा नम्बर ३ को जमेको पानी वडा नम्वर २ मा नल्याएर मोहना नदीमा निकास गराउनुपर्ने माग गरेका छन्। बस्ती डुवानमा पर्ने भन्दै उनीहरुले यसअघि बग्दै आएकाे नाला बन्द गरेका थिए ।