कोभिशिल्डको दोस्रो मात्राकोरुपमा जापानकाे एस्ट्राजेनिका खोप लगाइने
धनगढी । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा छिटै नै दिइने बताए।
उनले खोप केही दिनमा नै प्राप्त हुने भन्दै खोपको प्रतिक्षा गरिरहेका सबै जेष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए।अधिकारीले कोभिशिल्डको दोस्रो मात्राको रुपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाउने जानकारी दिए। जापानले सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ। भारतको सिरम इन्सिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन्।
गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो। मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए।यस्तै सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत ल्याउने मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए।
गत असार २५ गतेदेखि चीनबाट खरिद गरेको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ साउन) जहाज चीन जाने भएको उनले बताए। निगमको वाइडवडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ। यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो।