महामारीमै जनतामाथि सरकारले थाेपार्याे आर्थिक महामारी !
धनगढी । काेराेना कहरले थिलथिलाे पारेकाे नेपाली अर्थतन्त्रले टाउकाे उठाउन नपाउँदै नेपाल सरकार आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्यवृद्धि गरेको छ । गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर दुई रुपियाँले वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२९ रुपियाँ, डिजेल-मट्टीतेल प्रतिलिटर ११२ रुपियाँ र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ४२५ रुपियाँ कायम भएको छ । हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ८४ रुपियाँ कायम भएको छ । निगमले हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) तर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १९ ले वृद्धि गरी नयाँ बिक्री मूल्य ७५४ अमेरिकी डलर कायम गरेको छ ।
पेट्रोलियम पदार्थमा गरिएकाे याे मुल्यबृद्धिले जनजीवीकामा प्रत्यक्ष असर पर्ने अर्थविदहरुले बताए छन । तर, हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो तीन वर्षकै उच्च रहेको निगमले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यन हुने क्रम नरोकिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अझै भइरहने हो भने आगामी दिनमा समेत मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।