सुदूरपश्चिमका २ लाखबढी नागरीक दोस्रो डोज खोपको प्रतीक्षामा
बैतडी । सरकारकाे प्राथमिकतामा नपरेकाे सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा २ लाख भन्दा धेरै नागरिक कोरोना खोपको दोस्रो डोजको प्रतीक्षामा छन् ।प्रदेशभर दुई लाख ४५ हजार दुई सय ७५ जनाले खोप लगाएकामा ३८ हजार ६८८ जनाले दुबै डोज लगाएका छन् । तर सरकारी उदासिनताले २ लाख ६ हजार ५८७ जना दोस्रो डोजको प्रतीक्षामा रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार ६५ वर्षमाथिका एक लाख ६७ हजार दुई सय तीन जना ६५ वर्ष भन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा पाउन सकेका छैनन् ।६२ देखि ६४ वर्षसम्मका ३८ हजार ७ सय सात सय १३ जनालाई भेरोसेलको पहिलो डोज लगाइएको छ । उनीहरु पनि दोस्रो डोजको प्रतीक्षामा छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३७ हजार ९ सय ६ जनालाई कोभिशिल्ड र सात सय ८२ जनाले भेरोसेल खोपको दुबै डोज लगाएका छन् ।प्रदेशको राजधानीसमेत रहेको कैलालीमा १२ हजार ६ सय ४४, कञ्चनपुरमा पाँच हजार १३७, डोटीमा चार हजार ७६, अछाममा तीन हजार तीन ६७ जना, दार्चुलामा तीन हजार दुई सय ४३ जनाले दुवै डोज खोप लगाएका छन् ।
त्यस्तै बैतडीमा तीन हजार ११६, बझाङमा दुई हजार ८१९, डडेल्धुरामा दुई हजार ४११ र बाजुरामा एक हजार ८०२ जनाले दुवै मात्रा खोप लगाएका निर्देशनालयको तथ्यांक छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख समेत रहेका प्रवक्ता नरेन्द्र कार्कीले संघीय सरकारले तोकेअनुसार प्रदेशमा खोप अभियान चल्ने बताए ।