पर्यटकीय रिसोर्ट बनाउने याेजनासहित तारागाउँकाे टाेली खप्तडमा
डाेटी । भूस्वर्गका नामले परिचित खप्तडमा पर्यटक स्तरीय रिसोर्ट बनाउने योजनासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समितिकाे विज्ञ टाेली खप्तडतर्फ लगेको छ । तारागाउँ विकास समितिका सदस्य शिव लामिछाने नेतृत्वकाे विज्ञ टीमले खप्तड जानुअघि सिलगढीमा खप्तडमा रिसोर्ट संचालनबारे बृहत् छलफल गरेकाे डाेटी चेम्बरअफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिए ।
चर्चित धार्मिक एवं पर्यटकिय क्षेत्र खप्तडमा रिसोर्ट संचालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समितिकाे विज्ञ टाेलीले सराेकारवाला स्थानीय तहहरुसँग समन्वय गर्न छलफल आयाेजना गरिएकाे बताएकाे छ । खप्तड पुगेपछि पर्यटकलाई खान बस्न मुख्य समस्या हुने भएकोले एकै दिन सयबढी पर्यटकले सजिलोसँग बस्ने खाने वातावरण भएको नमुना रिसोर्ट बनाउने योजना रहेकाे छलफलमा तारा गाउँ विकास समितिका सदस्य शिव लामिछानेले बताए ।
शिव लामिछानेसँगै टाेलीमा तारागाउँ विकास समिति संयोजक डा. आलोक प्रसाई, अध्यन टोली प्रमुख (सामाजिक तथा आर्थिक विज्ञ) प्रणव थापा, पर्यटन विज्ञ इन्दु ज्ञवाली र केही इन्जिनियरहरु संलग्न रहेका थिए । टाेलिलाई सायल गाउँपालिका, पुर्वी चाैकि गाउँपालिका र दिपायल सिलगढी नगर पालिकाले साथ दिने भएकाे छ ।
छलफल कार्यक्रममा जिल्ला समन्वय प्रमुख, उप प्रमुख, जिल्ला प्रशासन, जिल्ला प्रहरी, भुमि सुधार आयोग, जिल्ला डिभिजन वन, डाेटी चेम्बर अफ कमर्स, खप्तड राष्ट्रिय निकुञ्ज, पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, फेकाेफनका प्रमुख एवम् प्रतिनिधि सहभागी कार्यक्रम दिपायल सिलगढी नगर पालिका कार्यालय प्रमुख खेमराज गुरुङले संचालन गरेका थिए ।
जिल्ला समन्वय समिति डाेटीका संयोजक राम ऐर प्रमुख अतिथि रहनु भएकाे कार्यक्रममा उपस्थित सहभागीहरुले खप्तडमा पर्यटक लाेभ्याउने उदेश्यले ल्याइएकाे योजना एकदमै स्वागत याेग्य भएको बताएका छन् ।