वर्षाैपछि काेठा बाहिरकाे दुनियाँ देख्न पाउँदाको खुशी
राजकुमार साउँद
अत्तरिया । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियाकी करिब ३० वर्षिया पशुपति भट्ट शारिरीक रुपमा अशक्त छिन । कक्षा ७ मा पढ्दै गर्दा शरिरको बाँया भाँग प्यारालाईसिस भएपछि उनि अशक्त भएकी हुन । अशक्त भएदेखी खुल्ला आकाश देख्न नपाएकी उनले शुक्रबार भने खुला आकाशको दर्शन गरिन ।
शरिर प्यारालाईसिस भएपछि कोठाबाट बाहिर निस्कन नसक्दा कोठाभित्रैको दुनिँयामा बस्न बाध्य उनले शुक्रबार भने कोठा बाहिरको दुनियाँ लामो समयपछि देखीन । कृष्णपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई सहजताका सामग्री प्रदान गर्ने कार्यक्रम अनुरुप ह्विलचियर पाएपछि उनले लामो समयपछि उनी कोठा बाहिर आउन पाएकी हुन । कोठाबाहिर आउन पाउँदा उनको ओठमा खुसीको ठेगाना रहेन । ‘७ कक्षामा पढ्दा देखी नै अशक्त बनेपछि कोठाबाहिर आउन पाएकी थिएन । आज कयौ वर्षपछि बल्ल कोठा बाहिरको दुनियाँ देख्न पाउदैछु । आजको दिन मेरा लागी एकदमै खुसीको दिन हो’ उनले मुस्कुराउदै भनिन ।
अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको भन्दै उनले नगरपालिकालाई धन्यावाद ज्ञापन गरिन ।नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्र रहेका अपांगता भएका व्यक्तिहरुलाई अपांगता सहायक समग्री वितरण गर्न बजेट छुट्याएको थियो । सोही अनुरुप नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको प्राविधिक सहयोगमा शुक्रबार नगरपालिकाले १६ जना अपांगता भएका व्यक्तिलाई आवश्यकता अनुसारका सामग्रीहरु वितरण गरेको छ ।
नगरपालिकाले ११ जनालाई ह्विलचियर, ३ जनालाई बैशाखी र २ जनालाई कृतिम खुट्टा वितरण गरेको हो । नगरपालिकाले यसअघि पनि २ जनालाई वैशाखी वितरण गरिसकेको छ ।अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत कार्य गर्नका लागि अपाङ्गता बाधक नबनोस भन्नका लागी सहायक सामग्री वितरण गर्न नगरपालिकाले ७ लाख रुपैया विनियोजन गरेको नगरप्रमुख कर्ण बहादुर हमालले बताए । उनले अपांगताका क्षेत्रमा मात्रै नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैया विनियोजन गरेको बताए ।
‘नगरपालिकाले नगरभित्र रहेका अपांगता भएका व्यक्तिहरुको समस्यालाई मध्यनगर गर्दै सहायक सामग्री वितरणका लागी ७ लाख र दृष्टिविहिनहरुलाई तालीमसहित सेतो छडी वितरणका लागी ३ लाख रुपैया छुट्याएको थियो’ उनले भने ‘सोही अनुरुप शारिरीक रुपमा अपांगता भएका व्यक्तिहरुलाई हामीले सहायक सामग्री वितरण गरेका छौ भने दृष्टिविहिन व्यक्तिहरुलाई तालीम दिईरहेका छौ ।’
दृष्टिविहिनहरुलाई सेतो छडी वितरण गरी प्रयोगात्मक रुपमा एक हप्ते तालीम दिईरहेको उनले बताए । नगरपालिकाले ४० जना दृष्टिविहिनहरुलाई तालीम दिईरहेको उनले बताए । शारिरीक रुपमा अशक्त, अपांग भई विभिन्न क्रियाकलाप गर्न समस्या भैरहेकाहरुको फिजियोथेरापिस्टबाट शारिरीक अवस्थाको चेँकजाँच गरी उनिहरुलाई आवश्यकता अनुसार सामग्रीहरु वितरण गरिएको नगरप्रमुख हमालले बताए ।
ट्राईसाईकल आवश्यक पर्ने अपांगता भएका व्यक्तिहरुलाई भने आगामी आर्थिक वर्षमा सामग्री वितरण गरिने उनले बताए ।