डोजरे विकासले गाउँलेको उठीबास, बाजुरामा पहिरोले ९४ परिवार विस्थापित
बाजुराकाे हिमाली गाउँपालिका क्युडी गाउँमा पहिरो गएको छ । गत सातादेखि निरन्तर पहिरो जाँदा ९४ भन्दा बढी परिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । पहिरोको जोखिम बढेपछि केही दिन यता स्थानीयहरू जरगाउँको चौरमा त्रिपाल टाँगेर रात बिताउन बाध्य छन् ।
बाजुराको सर्वाधिक विकट क्युडीकमा टेलिफोन सञ्चार पनि नहुँदा समयमा जानकारी नआएको अधिकृत भण्डारीले बताए । ढिलो गरी सूचना प्राप्त भए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए । गाउँ तलबाट पहिरो जान थालेपछि गाउँका केही घर पूर्ण रूपले क्षति भएका छन् । अधिकांश घर र क्युडी गाउँको पुरै जमिन चर्केको छ । मान्छेलाई खाना भन्दा पनि तत्काल पालको आवश्यकता देखिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका सदस्य एवं हिमाली गाउँपालिकाका रोजगार संयोजक बृखराज पाण्डेले बताए । त्रिपालको अभावमा चार/पाँच परिवारले सँगै रात काट्ने परेको छ पाण्डेको भने ।
नेपाल रेडक्रस सोसाइटी बाजुराका सभापति रमबहादुर शाहीले जङ्गलको वासमा पाल र ट्वाइलेटको समस्या हुनसक्छ भन्दै हामी त्यसको लागि व्यवस्थापन मै लागेका बताए । वातावरणीय असर प्रभाव मूल्याङ्कन नगरी गाउँ तलबाट डोर लगाउँदा स्थानीयको उठिबास भयो । माथि क्यूडी गाउँ त्यो पनि भिरालो जग्गा त्यहीमाथि डोजर लगाएपछि गाउँ पुरै चिरा–चिरा भएको छ उनले भने । “माटो परीक्षण नगरी डोजर लगाउँदा विकासले विन्यास निम्त्याउँछ ।”
“पूर्वाधार विकास गर्नु पहिले त्यसको असर प्रभाव बारे अनिवार्य अध्ययन गरी सोको प्रतिवेदनका आधारमा भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ । तर, बाजुरा लगायत अधिकांश पहाडी जिल्लामा धमाधम डोजरले बाटो खन्दा विन्यास निम्तिएको हो ।” पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापाले भने । माटो परिक्षण नगरी एक्स्काभेटर डोजर लगायत हेवी मेशिन प्रयोग गर्ने हुन्न कार्यालय प्रमुख थापाले भने ।