Dashain Suvakamana

बेजाेड स्वादकाे बझाङ्गे मकै, आलु र सिमीलाई ब्राण्डिङ गरिदै

बझाङ । तपाईँ बझाङ्गे मकै, आलु र सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ? हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोस्। कृषि ज्ञान केन्द्रले स्थानीयस्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गरी जिल्ला बाहिरका बजारमा पठाउने तयारी गर्दैछ। साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केही स्थानीय तहले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएका छन्।

नेपालको धेरै ठाँउमा अत्याधिक माग रहेको बझाङ्गे आलु र सिमीले बजारमा आफ्नो पहिचान बनाएको छ। स्थानीयस्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गर्न लागिएको केन्द्रका प्रमुख टेकबहादुर बिष्टले जानकारी दिए। जिल्लामा अधिकांश कृषकको मुख्य खेती आलु, सिमी र मकै हो। जिल्लामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यक्रम कार्यान्वयनमा आएको छ।

कार्यक्रम अन्तर्गत बुङ्गल नगरपालीकाको वडा नम्बर ६ को डिन्नु, वडा नम्बर १ र २, जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवल तथा दुर्गाथली गाउँपालिकाकोे सैनपसेललाई आलुमा आत्मनिर्भर बनाउन लागिएको उनले बताए। उनले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको बीउ राख्ने भकारी, चार सय थान बीउ सुकाउने पाल, र पाँच हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिए।

यस्तै जिल्लाको तल्कोट गाउपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ। कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ। पहिलो पटक जिल्लामा उत्पादन भएको भिरमौरीको मह, सिमी, मकै र आलु लगाएतका खाध्यान्न सामाग्रीहरुलाई अर्को जिल्लासम्म पु¥याउने लक्ष्य लिएको छ।

यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागी १२ लाख बिनियोजन गरिएको केन्द्रले जनाएको छ। केन्द्रले आलु प्याकिङको लागि सामाग्रीको ब्यवस्थापन भैसकेको र आगामी साउन महिना भित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ। साथै स्थानीय तथा राष्ट्रिय बजारमा १ करोड ४४ लाख बराबरको ३५ हजार क्विन्टल आलु निर्यात गरिने समेत केन्द्रले जानकारी दिएको छ।

आलुजोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई आधुनिक तरिकाले आलु लगाउन सिकाएको थियो। अहिले किसानहरु औधि खुसी छन्। साथै उत्पादनमा अझ अग्रसर हुन थालेका छन्। किसानले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानको जीवनस्तर माथि उठ्ने विश्वास गरिएको छ। -रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.