असंबैधानिक हर्कतबिरुद्ध विपक्षी गठबन्धन सडक आन्दोलनमा
काठमाडौंं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले आज बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
यसअघि बुधवार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख सहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरुलाई परिचालन गर्ने विषयमा पनि छलफल भएको थियाे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत उपस्थित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा भएको थियो । बैठकले प्रदेश सरकारहरुमा भएको सहकार्य निरन्तर राख्ने र अपूर्ण मन्त्रिपरिषदहरुलाई तत्काल पूर्णता दिने सहमति पनि गरेको छ ।