ढल निर्माणकाे बजेटले मेयरका भाईले खेतमा बाटाे बनाएपछि…
धनगढी । शक्ति र सत्ताको आडमा कैलालीको गोदावरीमा ३६ लाखको योजनामा मनपरी भएको खुलेको छ। गोदावरीका नगरप्रमुख हरीसिंह साउँदका भाइले नै ढल निर्माण र ग्राभेलको योजना आफ्नो खेतबारीमा पारेको पाइएको हो।
मेयरका भाइले डोजर लगाएर एकान्तकुना (विष्ट) टोलका लागि आएको योजना बस्ती नै नभएको आफ्नो खेतमा हालेको भन्दै टोलबासीले विरोध गरेका छन्। नगरपालिकाको वडा नम्बर २ एकान्तकुना अर्थात विष्ट टोलभित्र ढल निर्माणका लागि २० लाख र ग्राभेलका लागि १६ लाख बजेटको योजनामा मेयरका भाइ भोजराज साउँदले मनपरी गरेको स्थानीयले गुनासो गरेका छन्।
२० फिटभित्र नाली निर्माणका लागि सहरी विकासबाट २० लाख र नगरपालिकाले ग्राभेल गर्न १६ लाख बजेट विनियोजन गरेको थियो। एकान्तकुना टोलका लागि आएको बजेट मेयरका भाइले आफ्नो खेतबारीमा पारेको र डोजर लगाएर धमाधम निर्माणको काम गर्दै आएको स्थानीयले गुनासो गरेका छन्।
‘दुवै योजना हाम्रो टोलका लागि आएका हुन् तर मेयरले नै योजना सार्ने चलखेल गरे’ स्थानीय सुमन विष्टले गुनासो गरे। यति ठुलो बस्तीलाई लत्याएर खेतबारी भएको स्थानमा योजना सारिएको उनले बताएका छन्।