Dashain Suvakamana

उपचारार्थ दिल्ली गएका पूर्वप्रधानमन्त्री खनाललाई भएको के हो?

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ। स्वास्थ्यम समस्या भएपछि गत सोमबार नर्भिक अस्पताल भर्ना भएका खनाललाई बुधबार अस्पतालबाट डिस्चार्ज गराई नेपाल एअरलाइन्सको विमानमार्फत् दिल्ली लगिएकाे छ।

कोरोना संक्रमण भएपछि खनालको यसअघि नर्भिकमै उपचार भएको थियो। त्यसपछि उनी घरमै आराम गर्दै आएका थिए। पछिल्ला केही दिनयता भने निरन्तर ज्वरो आएपछि र शरीरमा हेमोग्लोबिनको मात्रासमेत घटेपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए।

के भएको हो खनाललाई?

नर्भिक अस्पतालमा रहँदा खनालको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी अस्पतालले दिएको छ। लगातार ज्वरो आएसँगै सास फेर्नसमेत गाह्रो भएपछि उनलाई सोमबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई विशेष वार्डमा सारेर उपचार गरिएको थियो। उपचारमा संलग्न चिकित्सहरुका अनुसार खनालको फोक्सोमा पानी जमेको देखिएको थियो। फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको र त्यहीकारण उनलाई अक्सिजनकै सपोर्टमा राखेर उपचार गरिएको थियो।

‘उहाँमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन, पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो’, अस्पताल स्रोतले भन्यो। उपचारका क्रममा खनाललाई मंगलबार एक पिन्ट रगत चढाइएको थियो। रगतमा हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको हो। २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो।

दिल्ली उड्नुअघि पनि उनलाई निरन्तर खोकी लागिरहेको थियो भने शरीर शिथिल देखिएको थियो। चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र त्यो समस्या फेरि बल्झिएको हुनसक्ने आशंका गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.