कामचलाउ सरकारलाई सहयोग नगर्न पाँच पूर्वप्रधानमन्त्रीको आग्रह
धनगढी । पाँचजना पूर्वप्रधानमन्त्रीहरुले शनिबार सँयुक्त प्रेस वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कामचलाउ भएको भएको भन्दै यो सरकारलाई दुरगामी असरपार्ने काममा सहयोग नगर्न राज्यसंयन्त्रलाई आग्रह गरेका छन्।
काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिबार सँयुक्त प्रेस वक्तव्य जारी गर्दै कामचलाउको स्थितिमा रहेको सरकारबाट देश र जनतालाई दीर्घकालीन रुपमा असर पार्ने काममा संलग्न नहुन सुरक्षा निकाय तथा अन्य राज्यका निकायहरुलाई आग्रह गरेका छन्।
उनीहरुले प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता बढेको तथा सर्वसत्तावादतर्फ अगाडि बढेको भन्दै आलोचनासमेत गरेका छन्। पहिलो पटक संसद विघटन गर्दा अदालतले ब्युँताइदिँदासमेत फेरि संविघटन गरेर ओलीले स्वेच्छाचारिता देखाएको उनीहरुले बताएका छन्। साथै महान्यायाधीवक्तामार्फत न्यायालयलाई धम्क्याइएकोसमेत उनीहरुले आरोप लगाएका छन्। कोरोना खोप, भ्रष्टाचार, ढुंगा गिट्टी निकासी लगायतका विषयमसेत उनीहरुले सरकारको आलोचना गरेका छन्।