Dashain Suvakamana

आज विश्व बालश्रम विरुद्व दिवस: नेपालमा पौने ३ लाख बालबालिका श्रममा संलग्न

आज विश्व बालश्रम विरुद्व दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैँछ । नेपालमा पनि कोरोना महामारीको बीचमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरिएका छन् । दिवसका अवसरमा सरकारले विभिन्न कार्यक्रम गरिए पनि नेपालमा बालश्रम घट्नुको साटो बढ्दै गएको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणमा, २०७६ अनुसार नेपालमा १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न रहेका छन् । तर उनीहरू सबै बाल श्रमिक नभएको सर्वेक्षणमा उल्लेख गरिएको विभागका निर्देशक समेत रहेका सूचना अधिकारी तिर्थराज चौंलागाईंले जानकारी दिए ।

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १ लाख ४ हजार ७ सय १४ जना बालबालिका कामकाजमा संलग्न रहेको पाइएको थियो । जसमा ५६ हजार २ सय ७६ बालक हुन भने ४८ हजार ४ सय ४७ बालिका हुन् । केन्द्रीय तथ्यांक विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सवेक्षण, २०७१ अर्थात सन २०१४ अनुसार ५ वर्षदेखि १७ वर्ष उमेर समुहका ३७ दशमलव ४ प्रतिशत बालबालिका बालश्रमममा संलग्न रहेको पाइएको छ ।

५ देखि ११ वर्ष उमेर समूहका कम्तिमा १ घण्टा कामकाजमा संलग्न बालबालिका २७ दशमलव ९ प्रतिशत रहेका छन् । जसमा बालक २९ दशमलव ९ प्रतिशत रहेका छन् भने बालिका २६ दशमलव ५ प्रतिशत छन् । १२ देखि १४ वर्ष उमेर सहूहका कामकाजमा संलग्न १४ घण्टाभन्दा कम ४४ दशमलव २ प्रतिशत रहेका छन् । जसमा बालक ४३ दशमलव ४ प्रतिशत र बालिका ४४ दशमलव ८ प्रतिशत छन् । १४ घण्टाभन्दा बढी १५ दशमलव २ प्रतिशत छन् । जसमा बालक १२ दशमलव ३ प्रतिशत र बालिका १७ दशमलव ६ प्रतिशत छन् ।

संविधान र कानूनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन बन्देज गरेको छ । नीति र योजनामा बालश्रम न्यूनीकरणका प्रावधान तर्जुमा पनि गरिएका छन् । बालश्रम लक्षित विविध कार्यक्रम सरकार र विकासका साझेदार संस्थाले कार्यान्वयनमा सहयोग पनि गर्दै आएका छन् । तर पनि बालश्रमको समस्या अझै कायमै रहेको पूर्व केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए ।

बालश्रम विरुद्धको कानूनी व्यवस्था हुँदा पनि रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैंचा कारखाना, जरी कारखाना, इँटाभट्टा लगायत घरेलु श्रममा बालबालिकालाई संलग्न गराइएको देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख समेत रहेका सहसचिव बिनोद प्रकाश सिंहले बताए । उनका अनुसार उमेर ढाँटेर बालबालिकालाई जोखिमपूर्ण काममा समेत संलग्न गराइएका घटना पनि देखिने गरेका छन् ।

आर्थिक वर्ष २०७६र०७७ मा विभिन्न राष्ट्रिय दैनिक पत्रिका र विद्युतीय सञ्चार माध्यमबाट प्रकाशित घटनामध्ये बालबालिकालाई विभिन्न कामममा लगाएका २३ वटा घटनाबाट ७९ जना बालबालिका प्रभावित भएको जानकारी सञ्चार माध्यमबाट सार्वजनिक भएको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको छ । जसमा ५७ जना बालक रहेका छन् भने २२ जना बालिका छन् ।

वैदेशिक रोजगारीका कारण श्रमशक्तिको अभाव भएका बेला नाइके वा ठेकेदारले विभिन्न आर्थिक प्रलोभन देखाई बालबालिकालाई विकल्पको रुपमा समेत प्रयोग गर्ने गरिएको छ ।२०६८ सालको जनगणना अनुसार १८, १६ र १४ वर्षमूनिका बालबालिकाको संख्या क्रमस ४१ दशमलव ८४, ३७ दशमलव ३७ र ३२ दशमलव ३५ प्रतिशत रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.