कृष्णचन्द्र गण्डकीको मुख्यमन्त्री बन्ने निश्चित, मनाङे बने गठबन्धनका सारथी
गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरिएलगत्तै नेपालीले शुक्रबार ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बुझाएका थिए ।
गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख पौडेलसमक्ष बुझाइएको छ ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा ३० मत परेको थियो । नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ जना गरी ३० सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । तर बहुमत पुग्न ३१ मत आवश्यक थियो ।
मनाङे बने गठबन्धनका सारथी
मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) विहीबारको संसद बैठकको मत विभाजनको प्रक्रियामा भाग लिएनन् । तर सोही दिन प्रदेशको युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिए ।
मनाङेलाई साथमा लिन भन्दै गुरुङ्ले दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिनुअघि नै युवा तथा खेलकुद मन्त्री बनाएका थिए । वैशाख २६ गते गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि मन्त्री बनेको ११ दिनमा नै मनाङेको मन्त्री पद गुम्यो । तर दोस्रो पटक सपथ लिएपछि पनि गुरुङले मनाङेलाई त्यही मन्त्रालय दिए ।
मनाङेले साथ दिए पनि गुरुङलाई विश्वासको मत नपुग्ने भएपछि बहुमत पुग्ने पक्षलाई सहयोग गरेर संसद जोगाउने निश्कर्षमा पुगे । त्यसैले विश्वासको मत लिने दिन मनाङे संसदमै उपस्थित भएनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पनि तटस्थ बसिदिए ।