Dashain Suvakamana

कोरोना महामारीले बढ्दैछ आत्महत्या गर्नेको संख्या

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जबकि कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि महामारीको दोस्रो लहर शुरू भएपछिको २०७८ वैशाख मसान्तसम्म कोरोना संक्रमणका कारण करीब ४ हजार ६६९ जनाको ज्यान गएको थियो ।

यो आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढेको छ । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्म र चालु आर्थिक वर्षको वैशाखसम्म आत्महत्या गर्नेको संख्या तुलना गर्दा करीब डेढ प्रतिशतले बढेको देखिएको छ ।कोरोना महामारीको असर आत्महत्याको तथ्यांकमा देखिन थालेको प्रहरीको भनाइ छ । कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ मा गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प भएको थियो ।

लामो समयको लकडाउनका कारण रोजीरोटी खोसिएका, आर्थिक समस्या भोग्नुपरेका, बेरोजगारी लगायत समस्याले मानसिक समस्या बढाउने र यसले आत्महत्यासम्मको परिणाम ल्याउन सक्नेतर्फ मनोविद्, मनोचिकित्सकहरूले औंल्याएका थिए । आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम कायमै छ ।

त्यो जोखिम अहिले प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८५ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।

अहिले आत्महत्याको दर बढ्नुको प्रमुख कारण कोरोना महामारीको असर भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । प्रवक्ता कुँवरका अनुसार कोरोनाका कारण रोजगारी गुमाएर, आर्थिक संकट परेका, घरेलु हिंसामा परेर मानसिक स्वास्थ्यमा समस्या परेका कारण आत्महत्या गर्नेको संख्या बढेको हो ।

उनी भन्छन्, ‘आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम छ ।’ दोस्रो लहरको कोरोना महामारीको संकटले थप धेरैलाई विभिन्न नकारात्मक असर गरेकोले बढ्न सक्ने अनुमान प्रवक्ता कुँवरको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.