कामचलाउ सरकारद्वारा मन्त्रिपरिषद्को ‘अस्वाभाविक’ पुनर्गठन
संसद् विघटन गरेर कामचलाउ सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को ‘अस्वाभाविक’ पुनर्गठन गरेका छन् । आफ्नो सत्ता टिकाउन सहयोग गरेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई प्रधानमन्त्री केपी ओलीले १० मन्त्री दिएका छन् । मन्त्रिपरिषद्मा रहेका १३ जना मन्त्रीलाई पदमुक्त गराएर अन्य ६ वटा मन्त्रालय आफूसँगै राखेका छन् ।
पार्टीमा औपचारिक निर्णय नगराई प्रधानमन्त्री ओलीले ठूलो संख्यामा मन्त्रिपरिषद् हेरफेर गरेका छन्, जसलाई लिएर उनकै समूहका नेताहरूमा समेत असन्तुष्टि देखिएको छ । १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीबाहेक एमालेका चार मन्त्री छन् । प्रधानमन्त्री ओलीले कामचलाउ सरकारमा तीन उपप्रधानमन्त्री बनाएका छन् ।
कामचलाउ सरकारको उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र सहरी विकाससहित राजेन्द्र महतो छन् । गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै राखेका छन् ।
जसपाको तर्फबाट शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव– श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवार चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला राज्यमन्त्रीको सपथ लिएका हुन् ।