Dashain Suvakamana

‘प्रचण्डलगायत नेता नसुध्रिए माओवादी केन्द्र रहँदैन’ -खगराज भट्ट

काठमाडौं-नेकपा (माओवादी केन्द्र)का नेता खगराज भट्टले केही दिनअघि सुदूरपश्चिम सरकार पुनगर्ठनको विषयमा सामाजिक सञ्जालमा असन्तुष्टि पोखे । उनले केन्द्रका नेताहरूजस्तै आफूहरूलाई प्रदेशबाट पनि हेपिएको दुःखमनाउ गरे । फेसबुक स्ट्याटसमा केन्द्रका नेताहरुप्रति पनि उनको चरम असन्तुष्टि झल्कन्छ ।

त्यसो त उनले तत्कालीन नेकपाको कार्यविभाजनप्रति पनि असन्तुष्टि जनाएका थिए । सुरुमा उनलाई डडेलधुराको इन्चार्ज बनाइएको थियो । असन्तुष्टि जनाएपछि सुदूरपश्चिम प्रदेश इन्चार्जमा बढुवा गरिएको थियो । प्रदेश सरकार सोचअनुरूप अगाडि बढ्न नसकेको भन्दै उनले मुख्यमन्त्रीलगायत ‘सेट’ नै परिवर्तन गर्नुपर्ने सुझाव दिँदै आएका थिए ।

तत्कालीन माओवादी केन्द्रमा उनी लेखराज भट्टपछिको वरीयताका नेता थिए । भट्ट एमालेमै रहेपछि वरीयतामा उनी नै अग्रस्थानमा छन् । तैपनि, नेतृत्वले आफ्नो कुरा नसुनेको भन्दै उनले तितो पोखेका हुन् । उनले मन्त्री बनेका नेताहरुको विषयमा भन्दा पनि विधि र प्रक्रियाका विषयमा आफूले प्रश्न उठाएको प्रतिक्रिया दिए ।

“सुदूरपश्चिमको सरकार पुनर्गठन गर्ने कुरामा हाम्रा केही असन्तुष्टि रहे । मन्त्री कसलाई बनाउने, कसलाई हटाउनेभन्दा पनि विधि–प्रक्रियाका सन्दर्भमा सुदूरपश्चिम पार्टीका संवेदनशीलतालाई सामूहिक रुपमा बोध गर्ने कुरामा केही अभाव भएको महसुस भएको छ । हामी बहस गरिरहेका छौँ । यसलाई समाधान गर्न लागिरहेका छौँ,” उनले भने ।

उनले अहिलेको मन्त्रिपरिषद्मा आएका व्यक्तिसँग आपत्ति नभएको र पार्टीपंक्तिभन्दा पनि केन्द्रबाट नै भूमिका खेलिएको बताए । सुदूरपश्चिम कमिटीमा मन माझामाझ गर्ने वातावरण नबनाइएको उनको टिप्पणी छ ।भट्टले सुदूरपश्चिममा मात्रै नभएर पार्टीका धेरै ठाउँमा सुधार गर्नुपर्ने आवश्यकता औंँल्याए । पार्टी क्षयीकरणको दिशामा गएको उनको स्वीकारोक्ति छ ।

“हाम्रो पार्टी धेरै ठाउँमा गुणात्मक रुपमा सुधार गर्नुपर्ने ठाउँमा छ । विधि, विचार, नीति, संस्कृतिमा, जनसम्बन्धलगायत सबै क्षेत्रमा गुणात्मक रुपले भिन्नता ल्याउन जरुरी छ । पार्टीका हरेक क्षेत्रमा गम्भीर समस्या छन् । पार्टी क्षयीकरणको दिशामा गएको कुरा लुकाएर लुक्ने कुरा होइन,” भट्टले भने ।

उनले पार्टीलाई जनताको केन्द्र बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखिका नेताहरु नै सुध्रनुपर्ने बताए । पाटीलाई जीवन्त राख्ने पहल अध्यक्षदेखि नै सुुरु गर्नुपने उनको भनाइ छ । “पार्टीलाई नेपाली जनताको स्वीकार्यता र आस्थाको केन्द्रमा बदल्ने हो भने  इतिहासमा भएका कमी–कमजोरीबाट यसलाई गुणात्मक ढंगले रुपान्तरणको दिशामा डोहोर्‍याउनुपर्छ । यसमा प्रचण्डदेखि त्यो लेभलकाले भूमिका खेल्नुपर्छ । राजनीति र कानुनी संघर्ष चलिरहेको छ ।

स्थायी कमिटीबाट पार्टी सञ्चालनका विषयमा एउटा सर्कुलर पनि आएको छ । सर्कुलरले जुन स्प्रिटमा हामीलाई प्रश्न सोधेको छ, त्यसको जवाफ दिन सक्ने पार्टी बनाउन सक्यौँ भने पार्टी  अघि बढ्छ । त्यसो हुन सकिएन भने पार्टी रहँदैन भन्ने कुरा पुष्टि हुँदै जान्छ । आगामी दिनमा कसरी अघि बढ्छ, पार्टीको जीवन र भविष्य निर्धारण हुन्छ,” भट्टको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विधि नमान्दा आजको परिस्थिति सिर्जना भएको र संघीयताको पक्षधर पार्टीले तल्ला कमिटीको आवाज सुन्नुपर्ने उनको माग छ । “अहिले हामी विधिको लडाइँमा छौँ । विधि स्थापित गर्ने बेला पनि हो यो । केपी ओलीले विधिको पालना नगरेर यस्तो अवस्था छ ।

संघीयताको पक्षधर भनिएको पार्टीले तल्ला कमिटीका विचार, धारणा, मनोविज्ञान, तलका आवश्यकतालाई गहिरोसँग बुझेर अधिकतम सम्बोधन गर्नुपर्छ,” भट्ट आफ्नो तर्कमा उभिन्छन् । माओवादी आन्दोलनको औचित्य छ भन्ने प्रमाणित गर्न सहरकेन्द्रित राजनीतिबाट गाउँ फर्किनुपर्ने उनको भनाइ छ । कार्यकर्ताको सुझाव ग्रहण गरेर लागु गर्नुपर्ने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.