Dashain Suvakamana

सत्ता पक्ष र विपक्षबीच प्रतिष्ठाको दोस्रो लडाइँ लुम्बिनीमा आज हुँदै

सत्ता पक्ष र विपक्षी गठबन्धनको प्रतिष्ठाको विषय बनेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान आज हुँदै छ । बागमती प्रदेशमा सम्पन्न ६ जेठको उपनिर्वाचनमा पराजय भोगेको सत्तारुढ एमाले लुम्बिनीमा पनि कमजोर देखिएको छ ।

अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।

पाण्डे गत १९ वैशाखमा एमाले र लुम्बिनी प्रदेश सभा सदस्य छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर विद्रोह गरेका थिए । सत्ता पक्ष र विपक्षीबीच केन्द्रसँगै प्रायः सबै प्रदेशमा सरकार फेरबदलको खिचातानी चलिरहेको बेला लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन सत्ता पक्ष र विपक्षबीच प्रतिष्ठाको दोस्रो लडाइँका रुपमा हेरिएकाे छ ।

मतदानको अघिल्लो दिन मतदाता सूचीमा हेरफेर
निर्वाचन आयोगले चुनावको अघिल्लो दिन मात्रै सत्ता पक्षलाई मतदान गर्ने चारजनालाई पूरक मतदाताका रूपमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । जब कि यसअघि १३ जेठमा निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्यामा प्रदेश सभाका ७९ जनाको मात्रै नामावली थियो । चुनावको अघिल्लो दिन मात्रै निर्वाचन आयोगले कारबाहीमा परेका जसपाका चारजना प्रदेश सांसदले पनि मतदान गर्न पाउने सूचना जारी गरेको छ । मतदाता संख्यामा थप गरिएका चारैजना जसपाका भए पनि उनीहरू मुख्यमन्त्री पोखरेलको मन्त्रिपरिषद्का सदस्य हुन् ।

विपक्षी गठबन्धनबाट ६ वैशाखमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चारजना सांसद सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डे त्यसको केहीबेरमा पोखरेलकै मन्त्रिमण्डलमा सहभागी भएर शपथ लिएका थिए । त्यसपछि जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको सिफारिसमा प्रदेश सभाले उनीहरूलाई पदमुक्त गरेको थियो । जसपाका सांसदहरूको बहिर्गमन र पुनरागमन पनि मुलुकको केन्द्रीय राजनीतिसँग जोडिएको विषय हो ।

अंकगणितमा विपक्षी गठबन्धन अगाडि 

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय पुगेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख हुन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ हुन्छ ।

एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ । विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल १६ सय ६८ मतभार छ ।

कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ । जसपा दुई सांसद गठबन्धनको पक्षमा उभिएका छन् । यस्तै, राप्रपाका दुई र स्वतन्त्रबाट निर्वाचित एकजनाको गरी एक सय ४४ मतभार छ ।

राष्ट्रिय राजनीतिमा आफ्नै पार्टीसँग असन्तुष्ट एमालेको खनाल–नेपाल पक्षसँग पनि लुम्बिनीमा उल्लेख्य मतदाता छन् । प्रदेश सभामा नै दुईजना सांसद स्पष्ट खुलेका छन् भने गुल्मीलगायत जिल्लामा पनि खनाल–नेपाल समूहका मतदाता छन् । नयाँपत्रिका

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.