Dashain Suvakamana

‘भ्रमपूर्ण प्रचार नगरौं, छलफलबाटै सुदूरपश्चिम सरकारलाई सुदृढ पारिएको हाे’

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन र प्रदेश सरकार मातहतमा गरिएका नियुक्तिको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि देखिएको छ। प्रदेश कमिटी र संसदीय दलको भावना विपरीत मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै केही पार्टी नेता-कार्यकर्ताहरु असन्तुष्ट देखिएका हुन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। मन्त्रिपरिषद पुनर्गठन गर्दा माओवादी केन्द्रबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी र मानबहादुर सुनार राज्यमन्त्रीमा नियुक्त भएका थिए। बाँकी एमाले स्थायी समिति र प्रदेश समितिले गरेका निर्णय र निर्देशन ठाडै अस्वीकार गरेर वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको माधव नेपाल समूहका नेताहरू मन्त्रीपरिषदमा समेटेका छन्।

यसअघि माओवादी केन्द्र र एमालबीच एकता हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशको माओवादी केन्द्रको भागमा परेको थियो। त्यस बेला सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित दुई मन्त्रालय माओवादी केन्द्रले पाएको थियो। सर्वोच्च अदालतको फैसलाले नेकपाको एकताले मान्यता नपाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकार पनि अप्ठेरोमा परेको थियो। तत्कालीन एकीकृत नेकपामा देखिएको विवाद ब्यूँतिएको एमालेमा कायम रह्यो। सोही विवादले प्रदेशसम्म असर गरेको गर्‍यो।

प्रदेशमा एकल सरकार बनाउन कुनै पनि दलसँग बहुमत छैन। सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रसँग १३ र एमाले एक्लैसँग २५ जना सांसद छन्। सर्वोच्चको फैसलापछि माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका झपट बोहराले एमालेमा रहने निर्णय गरेपछि उनीमाथि पार्टीले कारबाही गरेको छ। सुदूरपश्चिम प्रदेशमा एमालेको माधव नेपाल समूहको बलियो छ। नेपाल समूहले समर्थन कायम राख्ने निर्णय गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार जोगिएको हो।

तर, पुनर्गठित प्रदेश सरकारमा माओवादी केन्द्रका तर्फबाट एक जना मात्र मन्त्री अटाएकोमा विवाद देखिएको छ। पूर्वसांसद तथा पार्टीकी केन्द्रीय सदस्य मन्जु बमले पार्टीलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इमान्दार कार्यकर्तालाई किनारा लगाएर मन्त्रीपरिषद् पुनर्गठन गरिएको भन्दै आक्रोश पोखेकी छन्। उनले पार्टी नेतृत्वले सुदूरपश्चिमलाई हेपेको दाबी पनि गरिन्।

बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कमरेड प्रचण्ड अब त निन्द्राबाट बिउँझनुस् । तपाई कसको वैशाखीमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ ? निश्चित पनि सुदूरपश्चिमको पार्टी इन्चार्जविहीन हुँदा तपाईँ नै सुदूरपश्चिम प्रदेश इन्चार्ज हो। यहाँको पार्टीलाई जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इमान्दार कार्यकर्तालाई किनारा लगाएर बारम्बार वरिपरि परिक्रमा गर्ने एक दुई जनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेता कार्यकर्ताको पनि सुझाव लिने ? तपाईंले सुदूरपश्चिमलाई हदैसम्म हेप्नु भयो।’

उनले विगतमा लेखराज भट्टको कुरा सुनेर एकलौटी निर्णय गरेको र इमान्दार कार्यकर्ताको कत्लेआम गरेको आरोप लगाएकी छन्। उनले अगाडि लेखेकी छन्, ‘तपाईँले सुदूरपश्चिमलाई हदै सम्म हेप्नु भो हिजो लेखराजका एकलौटी कुरा सुन्नु भो र इमान्दार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिनु भो आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ। एक दिन अवश्य पछुताउनु पर्नेछ। जुन दिन निकै ढिलो भइसकेको हुनेछ। भीरबाट हाम फाल्नेलाई राम राम त भन्न सकिएला तर काँध थाप्न त सकिँदैन।’

माओवादी केन्द्रका सुदूरपश्चिम सहईञ्चार्ज लक्ष्मण जोशीले त्यसको खण्डन गरेका छन्। पार्टीमा सबैसँग अनौपचारिक सरसल्लाह गरेर मन्त्रीपरिषद् पुनर्गठन गरिएकोले अनावश्यक टिका टिप्पणी नगर्न जोशीले पार्टी पंक्तिमा आग्रह गरेका छन्। उनले संख्याको सीमामा रहेर निर्णय लिनुपर्ने बाध्यता रहेकोले यस विषलाई बुझिदिन आग्रह पनि गरे। जोशीले एमालेसँगको पूर्वसहमति अनुसार नै मन्त्रीपरिषद् पुनर्गठन गरिएको बताए। एमालेसहितको सरकार गठन गर्दा सुदूरपश्चिममा मुख्यमन्त्री सहित दुई मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थियो। उक्त सहमतिमा तलमाथि नभएको जोशीको भनाई छ। पछिल्लो राजनीतिक कठिनाइका कारण सरकार जोगाउन मन्त्रालय हेरफेर गरिएको मात्र उनले बताए।

यसअघि सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादीको भागमा परेको थियो। अहिले मन्त्रीपरिषद् पुनर्गठन हुँदा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय परेको छ। माओवादी केन्द्रको तर्फबाट मानबहादुर धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय माओवादीको भागमा थयावतनै छ। सहईञ्चार्ज जोशीले कोरोनाको कारण पार्टीको औपचारिक बैठक बसेर छलफल गर्ने सम्भावना नरहेकोले अनौपचारिक छलफल पछि मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरिएको बताए। उनले सबैको सहमतिमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको पनि दाबी गरे। तर केही व्यक्तिबाट व्यक्तिगत आक्षेप लगाउने काम भएको उनको भनाई छ।

सबैसँग छलफल र सहमतिमा भएको विषयमा भ्रमपूर्ण प्रचार नगर्न पनि जोशीले आग्रह गरे। उनले भने, ‘एउटा मात्र मन्त्रालय पाउने स्थितिमा हामीले मानबहादुर धामीलाई पठाएका हौं। उनलाई पठाउँदा पहाड, तराई सबै तिरको प्रतिनिधित्व हुने, सन्तुलन पनि मिल्ने, पार्टीमा उनको योगदान र सिनियरिटीको आधारमा धामीलाई पठाउने सहमति पार्टीभित्र बनेको हो। आम सहमतिको विषयलाई व्यक्तिगत रूपमा जोड्ने विषय पूर्वाग्रही मानसिकताको परिणाम हो जस्तो मलाई लाग्छ। यसरी व्यक्ति-व्यक्तिसँग जोड्न आवश्यकता छैन।’

संख्याको सीमा भित्रबाट निर्णय लिनुपर्ने र सरकार जोगाउनुपर्ने जटिल परिस्थितिमा योगदान गरेका नेताहरूको सहभागिताको कमी महसुस पार्टी नेतृत्वलाई रहेको उनले बताए। जोशीले यस्तो निर्णयबाट प्रभावित भएर केही नेताहरूले दिएको प्रतिक्रिया र वस्तुस्थितिको तादात्म्यता नमिल्ने बताए। उनले निर्णय प्रक्रियाको बाध्यता बुझ्न र चिन्तनगतरुपमा विचलित वा प्रभावित नहुन पनि आग्रह गरे। जोशीले सुदूरपश्चिममा आफ्नो पार्टीको सरकार जोगाउन सुझबुझपूर्ण ढंगले नेतृत्व अघि बढेको उनको दाबी छ।

‘व्यवस्थित र औपचारिक बैठक हुने स्थिति लकडाउन र अन्य केही परिस्थिरले सम्भव नभएको मात्र हो। तर अनौपचारिक रूपमा सरसल्लाह र छलफल भइराखेकै थियो,’ उनले लोकपाटी न्यूजसँग भने, ‘साथीहरूले आकांक्षा बोक्ने कुरा पनि स्वाभाविकै हो। योगदान गरेकै साथीहरू हुनहुन्छ। तर संख्याको सीमाभित्रबाट एउटा निर्णयमा पुग्दा त्यसबाट प्रभावित भएर प्रतिक्रिया दिने, नेतृत्वमाथि प्रश्न चिन्न खडा गर्ने काम गरिरहनु भएको छ। त्यो विषयसँग तादात्म्यता मिल्दैन। जबकि नेतृत्व चिन्ता भाव सहित आफ्नो पार्टीको सरकार जोगाउन सुझबुझपूर्ण सुझाव दिइरहनु भएको छ। यस्तो बेलामा नेतृत्वमाथि साथीहरूले आशंका, अविश्वास वा आरोप लगाइरहनु भएको छ, यो उनीहरूको चिन्तनगत समस्या हो जस्तो मालाई लाग्छ।’

जोशीले सामाजिक सञ्जालमार्फत पनि परिवर्तनका संवाहक नेतृत्वलाई अनावश्यक बदनाम गाएर कमजोर बनाउनले काममा प्रतिक्रियावादीहरू लागिरहेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘आज नेपाली जनताको महान् त्याग तपस्या र बलिदानबाट प्राप्त उपलब्धि सिध्याउने परिवर्तनको महत्वपूणँ संवाहक नेतृत्वलाई अनावश्यक बदनाम गराएर कमजोर बनाउने काममा प्रतिक्रियावादीहरू विभिन्न ढंगले लागिरहेका छन्। यस्तो बेलामा पार्टीको सुदृढ एकताले मात्रै प्राप्त उपलब्धिको रक्षा गर्न सक्छौं। सुदूरपश्चिममा पनि नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको सरकार ढाल्न थुप्रै षड्यन्त्र भइरहेको बेलामा आदरणीय पार्टी अध्यक्ष कमरेड ‘प्रचण्ड’ले दिएको महत्त्वपूर्ण सुझावलाई लिएर अनावश्यक टिका टिप्पणी गर्नु उपयुक्त होइन।’

आफ्नो नेतृत्वको सरकार जोगाउन लिइएको निर्णयमा सिंगो पार्टी दत्तचित भएर लाग्नुपर्ने उनको भनाई छ। उनले भनेका छन्, ‘जहाँसम्म कतिपय चित्त नबुझेका विषय छन् भने पनि पार्टीको आन्तरिक छलफलबाट समाधान खोज्नुपर्छ। जीवन्त पार्टीमा छलफल निरन्तर भइनै रहन्छ। सरकार पूनर्गठनका सन्दभँमा पनि छलफल हुँदैआएको हो। कतिपय विषय परिस्थिति र घटनाको तीव्र विकाससँगै सबै सित तुरुन्त छलफल हुन नसकेका विषयलाई त्यही गतिशीलतामा बुझ्नु आवश्यक हुन्छ।’ -लाेकपाटीवाट

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.