श्रीमानको कोरोनावाट मृत्युपछि श्रीमतिले गरिन् आत्महत्या
बाजुराजिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ घर भएका सुरेश कठायतको कोरोना संक्रमणका कारण मृत्युपछि श्रीमतिले पनि आत्म हत्या गरेकी छन्। डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका कठायतको मृत्युको घोषणा पछि कठायतकी श्रीमति सरिता रावतले पासो लगाएर आत्महत्या गरेकी हुन्।
२९ वर्षका सुरेश कठायतको कोरोना संक्रमण पुष्टी पछि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना गरिएको थियो। आइसीयुमै राखेर उपचार गर्नु पर्ने भएपछि कठायतलाई जेष्ठ २ गते रिफर गरिएको थियो।विगत १४ दिनदेखि डडेल्धुरा उपक्षेत्रीय अस्पतालकै आइसीयुमा उपचार गराइरहेका कठायतको शनिवार मृत्यु भएको थियो । निमोनियाका विरामी कठायतलाई कडा संक्रमणले च्यापेपछि आइसीयुमा राखिएको थियो।
डाक्टरले विहान ८ बजेपछि मृत्यु घोषणा गरेलगत्तै उपचारका लागि सँगै रहेकी कठायतकी श्रीमति सरिता रावत बेपत्ता भएको र साँझ अस्पताल नजिकैको जंगलमा झुण्डीएको अवस्थामा भेटिएको आफन्तले बताएका छन्।२८ वर्षकी सरिता रावत गाउँकै सरस्वती माविमा लेखापाल पदमा कार्यरत थिईन भने कठायत भर्खर मास्टर डिग्रीको पढाइ सकेर घर फर्किएका थिए। कठायत दम्पतीले गएको असोजमा विवाह गरेका थिए।
श्रीमानको मृत्युको पीडा सहन नसकेर श्रीमतिले आत्महत्या गरेको हुनसक्ने बुझिएको छ।ज्वरो सहितको लक्षण देखिएपछि कठायतलाई लामो समय घरमै राखिएको थियो। पछि आटीचौर स्वास्थ्य चौकीबाट रिफर गरेर जिल्ला अस्पताल पठाएपछि कोरोना पुष्टी भएको स्वास्थ्य चौकी इन्चार्ज रमेश ओलीले बताएका छन्। कठायतको मृत्युसँगै बाजुरा जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ।