संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौं ।प्रतिनिधि सभा विघटनको विरोध गर्दै विद्यार्थीले ललितपुरको पाटन क्याम्पस अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन्। अनेरास्ववियूका विद्यार्थीले आइतबार साँझ राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन्।
उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम चालेको भन्दै प्रदर्शन गरेका छन्। विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पारेको थियो।
संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेविसंघका कार्यकर्ताले मसाल जुलुस र पुत्ला दहन गरेको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेको थियो ।