प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई निजी सम्पती बनाए : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीका लागि दिएको दाबी अस्वीकार गरि प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। देउवाले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको उल्लंघन गर्दै नियोजित रुपमा संसद विघटन गरेको बताउँदै उक्त कमदका विरुद्ध एकजुट हुन आह्वान गरेका हुन्।
देउवाले ओली र भण्डारीका गैर संवैधानिक स्वेच्छाचारी कदमका विरुद्ध राजनीतिक र कानुनी लडाईँ सुरु भएको उद्घोष गरेका छन्।शनिबार प्रभावशाली नेताहरुको बैठकपछि देउवाले विज्ञप्ति जारी गर्दै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायीक लडाई लड्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछु।’
उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानलाई निजी सम्पतिका रुपमा प्रयोग गर्ने काम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। देउवाले भनेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन्।’
आफूले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा पेश गरेको दाबीलाई खारेज गरि ओलीलाई नै निरन्तरता दिनु आपत्तिजनक र अनैतिक भएको सभपाति देउवाले उल्लेख गरेका छन्।‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरे । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो, देउवाले अगाडि भनेका छन् ।
‘बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्। नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो’