राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक : कांग्रेस
राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदम संविधानविपरीत रहेको प्रमुख प्रतिपक्षी कांग्रेसले ठहर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने आफूलाई लागेमा राजीनामा दिई सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा त्यसो नगरी उनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल कार्यान्वयन गरेकामा कांग्रेसले आपत्ति जनाएको हो ।
प्रधानमन्त्री ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । सरकार निर्माणको अर्को प्रक्रिया अघि बढाउन अनुरोध गरे पनि उनले राजीनामा भने दिएका छैनन् । प्रधानमन्त्रीको अनुरोधलाई राष्ट्रपतिले सामान्य कानुनी परामर्शसमेत नगरी तत्क्षण कार्यान्वयन गरेकी थिइन् । पद रिक्त नभई अर्को प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउने राष्ट्रपतिको कदम नै असंवैधानिक भएको कांग्रेसले ठहर गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानलाई फाल्ने नियोजित षड्यन्त्रमा लागेको आरोप लगाए । ‘अप्रत्यासित र हठात रूपमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर जुन कदम उठाएका छन्, यो संविधानलाई फाल्ने षड्यन्त्रअन्तर्गतको तानाबाना हो,’ पौडेलले भने, ‘यो षड्यन्त्रलाई सबै मिलेर असफल बनाउनुपर्छ ।’