Dashain Suvakamana

बागमतीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन आज

बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । आयोगका अनुसार आज बिहीबार बिहान ९ बाट दिउँसो ३ बजेसम्म हुने मतदानका लागि तीन बुथ तयार गरिएको छ ।

जसअनुसार ‘क’ बुथमा प्रदेशसभा सदस्य, ‘ख’मा स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । कोरोना संक्रमण परेका प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि ‘ग’ बुथ बनाइएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीको पीसीआर परीक्षण गरेको छ भने संक्रमित मतदाताको बुथमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई पीपीई लगाएर राखिनेछ ।

प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनमा बाग्मती प्रदेश सभा सदस्य १ सय १० र बाग्मती प्रदेशअन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता रहेकाे जानकारी दिए । मतदान हेटौंडा उपमहानगर–४ स्थित भुटनदेवी माविमा हुनेछ ।

निर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.