वनमन्त्री आलेमगरकाे अभिब्यक्तिकाे सर्वत्र आलाेचना
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले मगर आफ्ना अभिव्यक्तिका कारण बेला–बेला विवादमा आइरहन्छन्। पछिल्लो समय पनि उनी आफ्नो एउटा अभिव्यक्ति (निर्देशन)का कारण आलोचनाको केन्द्रमा छन्।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने दर बढिरहँदा मन्त्री आलेले आर्यघाटमा दाउराको कमी हुन नदिनू भनेर दिएको निर्देशनलाई लिएर अहिले सवत्र आलोचना भइरहेको छ। मन्त्री आलेले आइतबार पशुपति क्षेत्रको शवदाह गर्ने स्थान (आर्यघाट)मा दाउराको कमी हुन नदिन वन तथा वातावरण मन्त्रालय मातहतको नेपाल वन निगमका महाप्रबन्धक धनञ्जय पौडेललाई निर्देशन दिएका थिए।
वन मन्त्री आलेले शव जलाउन दाउराको कमी हुन नदिनू भनेर निर्देशन दिएको विषयमा समाचार सार्वजनिक भएपछि सरकारको प्राथमिकताको क्षेत्रलाई लिएर समेत अहिले आलोचना भइरहेको छ। कोरोना संक्रमितहरु अक्सिजन नपाएर मृत्युवरण गरिरहेको अवस्थामा सरकारले भने अक्सिजनको व्यवस्था गर्नुको सट्टा आर्यघाटमा दाउराको जोहो गर्न जोड दिएको आलोचकहरुको टिप्पणी छ।
मन्त्री आले भने आफूले बोलेको कुराको गलत ब्याख्या भएको दाबी गर्छन्। ‘कोरोना संक्रमितहरु अक्सिजन नपाएर मरिरहँदा घाटमा दाउराको अभाव नहोस् भनेर निर्देशन दिन अप्ठेरो लागेन?’ भन्ने प्रश्नको जवाफमा मन्त्री आलेले भने, ‘घाटमा दाउराको कमी नहोस् भनेर विभागीय मन्त्रीका हिसाबले निर्देशन दिएको हुँ।’
उनले अगाडी भने- ‘त्यसको गलत ब्याख्या गरेर अहिले सामाजिक सञ्जालतिर विरोध भइरहेको छ। आफूले सम्हालेको मन्त्रालयको जिम्मेवारीअनुसार मैले निर्देशन दिएको हुँ। दाउराको कमी हुन नदिनू भनेर मैले के गल्ती गरेँ ?’