आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ। छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ।
शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बुवाभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ। दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ।