कैलालीका निजी तथा सामुदायीक अस्पतालसँग कोभिड वार्ड सञ्चालनको सम्झौता
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दोश्रो चरणको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरु विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० बेडको कोभिड वार्ड सञ्चालन भइरहेको र धनगढीमा थप ५० बेडको कोरोना अस्पताल निर्माण भइरहेको उल्लेख छ ।
यसैगरी कैलालीका निजी अस्पतालहरु नवजीवन अस्पताल र पदमा अस्पतालमा १०/१० बेड र कैलाली अस्पतालमा पाँच बेडको कोभिड अस्पताल सञ्चालनका लागि सम्झौता भइसकेको छ ।त्यस्तै धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले ५/५ बेड उपलब्ध गराउने भएको छन्।
गेटा मेडिकल कलेजको भवनमा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी भइरहेको, अस्पतालहरुमा थप बेडहरु बिस्तार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।दैनिक एक सय सिलिण्डर धनगढी ग्यास उद्योगबाट र थप एक सय सिलिण्डर नेपालगञ्जबाट समेत दैनिक आपूर्तिको व्यवस्था मिलाउने कार्य भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालयका अनुसार सीमा नाकामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य जाँच र परीक्षण गर्ने कार्य भइरहेको छ । आइसोलेन सञ्चालन एवं स्वाव संकलन र परीक्षण गर्ने कार्यका साथै विभिन्न जनचेतनामुलक क्रियाकलापहरु पनि भइरहेका छन् । सरकारी प्रयासका अतिरिक्त सबै सरोकारवालाहरुको सहयोग र सहकार्यका लागि मन्त्रालयले अनुरोध समेत गरेको छ ।