कैलाली-कञ्‍चनपुरमा आज एकैदिन ६ जना संक्रमितको मृत्यु

धनगढी । कैलाली र कञ्चनपुरमा थप ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । आज बिहानै कैलालीमा तीन र कञ्चनपुरमा तीन जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको संक्रमण पुष्टि भएको १२ घण्टामै आज बिहान साढे १२ बजे मृत्यु भएको हाे । यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष र घोडाघोडी-१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवकको बिहीबार बिहान १ बजे, महाकाली नगरपालिकाका ३० वर्षीय युवकको साढे १२ बजे र भीमदत्त नगरपालिका-१८ की ३६ वर्षीया एक महिलाको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो ।यस्तै ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनी भारतबाट आएका थिए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.