Dashain Suvakamana

उच्च संक्रमण दरकाे नयाँ काेराेना ‘यूके भेरियन्ट’ समुदायमा फैलिँदै

बेलायतमा देखिएको कोरोनाको ‘नयाँ भेरियन्ट’ नेपालमा फैलँदो क्रममा रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिँदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ।

बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएको पाइएको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्। केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन्।

कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा छन्। बुधबार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा संक्रमित पाइएको छ।

विश्वका विभिन्न देशमा भेरियन्ट फैलिनेक्रम जारी छ । बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्ट छिमेकी देश भारतमा समेत देखिएको छ । बेलायती प्रजाति विश्वका १ सय २९ देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यका अनुसार भारतमा संक्रमणदर उच्च रहेको भन्दै नेपालमा पनि भयावह स्थिति आउन सक्नेछ।

‘संक्रमित संख्या बढ्दै गएको छ, अहिले टेस्ट पोजेटिभ दर पनि बढेको छ,’ कर्माचार्यले भने, ‘परीक्षण दर बढाउन सकिए संक्रमित संख्या बढ्नेछ।’ कर्माचार्यका अनुसार बेलायती प्रजातिको सर्ने दर ४३ देखि ९० प्रतिशतसम्म छ । यो संक्रमण समुदायमा फैलिए भयावह अवस्था आउन सक्ने देखिएको छ । बेलायती प्रजातिमा लक्षण देखिने सम्भावना अन्य प्रजातिभन्दा बढी रहेको छ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.कृष्णप्रसाद पौडेलका अनुसार बालबालिका नयाँ भेरियन्टको जोखिममा छन् । भेरियन्ट समुदायमा फैलिरहेको भन्दै परीक्षण गराउन जनस्वास्थ्य विज्ञले बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.