जिउँदा शहीद मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान
जनआन्दोलन २०६२/२०६३ मा बनेपामा प्रहरीको गोली लागि घाईते भएका जिउँदो शहिद मुकेश कायस्थलाई नेपाल सरकारले लोकतन्त्रका योद्धाकाे सम्मान गरेको छ । राजधानीमा आयोजित शहिद परिवारहरुलाई सम्मान गर्ने क्रममा लोकतन्त्रका योद्दा कायस्थलाई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्मान गर्नु भएको हो ।
‘जसको बलिदानी जगमा आज मुलुकमा सङघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, जसको आदर्शको आभाले हामीलाई उज्यालो भविश्यका लागि मार्गदर्शन गरिरहेको छ र जसले आज शारीरिक कष्टका बीचमा पनि हामीलाई निरन्तर प्रेरणा दिईरहनु भएको छ, ऐतिहासिक जनआन्दोलनमा तपाईको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ सम्मान अर्पण गर्दर्छाै’–सम्मानपत्रमा भनिएको छ ।
को हुन् मुकेश ?
२०४८ भदौ ९ गते बनेपा नगरपालिकामा जन्मिएका मुकेश विद्या सागर स्कुलको कक्षा ८ मा अध्ययनरत थिए । जनआन्दोलन २०६२/२०६३ को समयमा उनलाई प्रहरीले चलाएको गोली लागेको थियो । उक्त गोलीका कारण अचेत रहेका मुकेशको अझै होस आउन सकेको छैन ।
२०६२ चैत्र २७ गते दिउँसो ३ बजे उनलाई गोली लागेको थियो । नेपालका विभिन्न स्थानमा उपचार हुँदा पनि सुधार हुन सकेको थिएन । सरकारले मुकेशको उपचारका लागि गरेको अनेकन प्रयास सफल हुन सकेन । १५ वर्ष देखि मुकेश अचेत अवस्थामा नै छन् । परिवारले उनको रेखदेख गरिरहेको छ ।