Dashain Suvakamana

सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना पुष्टि, स्वास्थ्य सतर्कतामा कमी

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट केही दिन अघि नेपाल आएका ३ जना पुरुषमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको मन्त्रालयमा प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरू तीनै जना अहिले होम आइसोलेसनमा छन् । ‘विगतको भन्दा यो फरक प्रकारको छ’ उनले भने, ‘यो कुन हो भन्ने बारे अझै अनुसन्धान भइरहेको छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा फरक प्रकारको कोरोना देखिएको कार्कीले बताए ।

उनले यस प्रकारको कोरोना तीव्र गतिमा फैलने भन्दै ‘केही दिन अघिसम्म भारतमा हजारको संख्यामा कोरोना संक्रमित थिए । अहिले लाख पुगेका छन्,’ उनले भने ‘नेपालमा पनि यो प्रकारको कोरोनाका संक्रमण तीव्र हुन सक्छ ।’ कैलालीको त्रिनगर नाका हुँदै आएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भइसक्दा पनि यहाँका नाका तथा गाउँ शहरमा हुने लापरवाही अझै कम भएको छैन । सरकारले कोरोना भाइरसको जोखिमलाई हेरेर स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पठन–पाठन गर्न शिक्षण संस्थाहरुलाई निर्देशन गरेको भएपनि त्यसको पूर्ण पालना भएको छैन।

यस्तै सार्वजनिक स्थल, सार्वजनिक यातायात र सरकारी कार्यालयमा मास्क समेत नलगाउनेको संख्या हरेक दिन बढेको छ। जुनकारण पहिलेभन्दा कडा प्रकृतिको बताइएको कोरोनाको नयाँ प्रकार सुदूरपश्चिमहुँदै देशैभर भुसको आगो झै फैलिने जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन्।

पछिल्लो केही दिनयता भने नयाँ प्रकारको कोरोना भित्रिन थालेपछि संक्रतिमहरुलाई धनगढीमा तयार पारेको आइसोलेसनमा राख्ने काम भइरहेको छ । ‘अहिले सम्म करिब ७० जना लाई हामीले आइसोलेसनमा राखेका छौँ’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए । उनले पहिलो चरणमा भारतबाट भित्रिएका तीन संक्रमितहरू सोझै घर पुगेको बताए । ‘उहाँहरू होम आइसोलेसनमा बस्नु भएको छ,’ उनी भन्छन्, ‘अहिले हामीले यहीँ राख्ने व्यवस्था गरेका छौँ ।’

एक महिनामा कैलालीको गौरिफन्टा नाकाबाट करिब १० हजार नेपाली भित्रिएका छन् । ती मध्ये करिब ३ हजार ५ सयको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । परीक्षणको दायरा कम हुँदा पनि संक्रमण फैलन सक्ने जोखिम बढेको छ । नयाँ प्रकारको कोरोना फैलिन नदिन तयारी थालिएको जिल्ला प्रशासन कार्यालय कैलालीको दावी छ ।

सूचना अधिकारी शिवराज जोशीले नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि भइसकेपछि भारतबाट आउने सबैको एन्टिजेन परीक्षण भइरहेको बताए । ‘हामीले तीव्र तयारी गरिरहेका छौँ’ जोशीले भने, ‘अहिले सबैलाई परीक्षण गरिएको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.